१९ वर्षपछि जेलबाट छुटेका विकिनी किलर चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरि निष्कासन गरिएको छ।
गृह प्रवक्ता फडिन्द्र मणि पोखरेलका अनुसार शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउने गरि निष्कासन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ।
‘चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरि ‘डिपोट’ गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ । आजै उनलाई फ्रान्स पठाइनेछ।’
हत्या र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई शुक्रबार बिहान छुटेका शोभराजलाई अध्यागमन विभागले पनि आजै फ्रान्स निष्कासनको प्रक्रिया अघि बढाएको छ।
सकेसम्म शोभराजलाई आजै पठाउने गरी टिकटको व्यवस्था गर्न लागिएको छ, विभागका एक अधिकारीले भने, ‘सबै प्रक्रिया पूरा भए आजै निष्कासन गरिन्छ।’
उमेर र स्वास्थ्य अवस्थाका आधारमा सर्वोच्च अदालतले कैद छोट्याएर छाड्न आदेश दिएपछि केन्द्रीय कारागारले शोभराजलाई अध्यागमन विभाग बुझाएको थियो।
२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।