Breaking News

१९ बर्षे लामो कैद सजाय भोग्दै छुटे फ्रान्सेली नागरिक सिरियल किलर चार्ल्स शोभराज

फ्रान्सेली नागरिक सिरियल किलर चार्ल्स शोभराज आज जेलमुक्त भएका छन्।

सर्वोच्च अदालतको अस्ति बुधबारको आदेशपछि शोभराज आज शुक्रबार जेलमुक्त भएका हुन्।

१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।

सर्वोच्चको आदेश अनुसार हत्या अभियोगमा करिब दुई दशकदेखि कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।

शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो।

२०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।

कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ।

अध्यागमन विभागले पनि उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने बताएको छ।

उनलाई अध्यागमनमा बुझाएपछि प्रक्रिया पुर्‍याएर डिपोर्ट गरिने विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।