आज राती एक बजे फिफा विश्वकप २०२२ को सेमिफाइनलको खेल सुरू हुँदैछन्।
आज राति पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच कतारको लुसेल रंगशालामा खेल हुँदैछ। भोलि राती फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम इच्छाको निर्क्यौल गर्नेछ। गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो पहिलो धोको पूरा गरेका मेसीका लागि आफ्नो अन्तिम धोकोको रुपमा रहेको विश्वकपको ट्रफी उचाल्नका लागि क्रोएसियाविरुद्धको खेल महत्वपूर्ण छ।
गत संस्करणको उपविजेता क्रोएसियाका विशेषगरी मिडफिल्डरहरू अर्जेन्टिनालाई चुनौती दिनेछन्। मेसीले क्लब फुटबलमा सबै उपलब्धि हासिल गरिसकेका छन्।
स्पेनिस महारथी बार्सिलोनाका लागि उनले १० ला लिगाका उपाधि जिते। फ्रेञ्च क्लब पिएसजीमा आबद्ध भएपछि मेसीले त्यहाँ पनि लिगको उपाधि जितिसकेका छन्। चार पटकका च्याम्पियन्स लिगका विजेता मेसीले कोपा अमेरिका २०२१ जितेर देशका लागि उपाधि जित्ने खडेरी तोडेका थिए।
कीर्तिमानी सात पटक बालन डि’अर अवार्ड हात पारेका मेसीले अब विश्वकप जित्ने अन्तिम मौका भएको स्वयमले पनि बताउँदै आएका छन्।
विश्व फुटबलका सर्वकालिन महान् खेलाडीहरू ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनाको उचाइ छुनका लागि ३५ वर्षीय मेसी विश्वकपको उपाधि जित्न चाहान्छन्। अर्जेन्टिनाले पछिल्लो पटक ३६ वर्षअघि सन् १९८६ मा म्याराडोनाको प्रभावशाली खेलमा विश्वकप जितेको थियो।
सन् २०१४ मा अर्जेन्टिनाका लागि उपाधि जित्ने अवसर आएको थियो। तर फाइनलमा जर्मनीसँग पराजित हुँदा मेसी र अर्जेन्टिनाको सपना चकनाचुर भएको थियो। फेरि आठ वर्षपछि मेसीका सामू अर्को अवसर आएको छ। तर त्यसका लागि अर्जेन्टिनालाई सेमिफाइनलमा क्रोएसियालाई पन्छाउन सजिलो भने छैन।
अर्कोतर्फ क्रोएसियाका लागि पनि यसपटक सन् २०१८ को पीडा भुलाउने अवसर आएको छ। २०१८ को रसिया विश्वकपमा फाइनल पुगेर फ्रान्ससँग पराजित भएको पीडा उनीहरूले अझै बिर्सिएका छैनन्।
गत वर्षपछि क्रोएसियाले अन्तिम चारसम्म स्थान बनाउने क्रममा डेनमार्क र रसियालाई पेनाल्टी सुटआउटमा हराएको थियो। यसपटक पनि त्यसै भयो। जापान र ब्राजिलाई पेनाल्टी सुटआउटमै हराउँदै क्रोएसियाले सेमिफाइनलमा स्थान बनायो।