सत्ता गठबन्धनको बैठक वालुवाटारमा जारी

१९ मंसिर, काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा एम घन्टा अघि सुरू भएको छ । बैठक दिउँसो ३ बजे बस्‍ने भनिए पनि एक घण्टा ढिलोगरी सुरू भएको हो ।

बैठकमा सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्ण सिटौला, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र महासचिव बेदुराम भुसाल, माओवादी केन्द्रका महासचिव देव गुरूङ र नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।

बैठकमा चुनावको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने एक नेताले जानकारी दिए ।

सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ ।

यसैगरी माओवादी केन्द्रले १८, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । प्रदेश सभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना देखिन्छ ।