Breaking News

सममानीत नेता झलनाथ खनालमाथि लगाइएको आरोप पुष्टि गर्न समाजवादीले एमालेलाई चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका सममानीत नेता झलनाथ खनालमाथि लगाइएको आरोप पुष्टि गर्न एमालेलाई चुनौती दिएको छ ।

पार्टीले शुक्रबार विज्ञप्ति जारी गर्दै इलाम क्षेत्र नम्बर १ बाट वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका खनालमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको हो ।

यसअघि एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का संयोजक उदयबहादुर राईले नेता खनालले जथाभाबी बोल्नुका साथै बम पड्काएको आरोप लगाएका थिए । उक्त आरोपप्रति ध्यानाकर्षण भएको जनाउँदै एकीकृत समाजवादीले एमालेले लगाएको आरोपलाई पुष्टि गर्न भनेको छ ।

जिल्ला अध्यक्ष भक्त केसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बम विस्फोटन जस्तो गम्भीर प्रकृतिको मुद्दालाई आधार, कारण र प्रमाण विनानै गठबन्धनका उम्मेदवारलाई आरोप लगाउने कार्य अपराधजन्य कार्य भएकाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर १ का एमालेका उदयबहादुर राईलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछु ।’

इलाम १ मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार खनाल एमाले उम्मेदवार महेश बस्नेतसँग पराजित भएका थिए । नेता खनालले धाँदलीपूर्ण तरिकाले निर्वाचन भएको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए ।