१३ मंसिर, काठमाडौं । अन्तिम चुनावी परिणाम आउँदै गर्दा नयाँ सरकार गठनका लागि नेताहरुले सक्रियता बढाउन थालेका छन् । चुनावी परिणामले स्पष्ट मतादेश नदिएकाले कसको नेतृत्वमा, कस्तो सरकार बन्छ भन्ने विषय अलमलमै छ।
त्रिशंकु संसद बन्ने परिणाम आएकाले सरकारको स्थायित्व नहुने हो कि भन्ने चिन्ता समेत धैरैमा बढाएको छ । यस्तोमा सत्ता गठबन्धनको एउटा घटक नेकपा माओवादी केन्द्रले अहिलेको गठबन्धनलाई नै निरन्तरता दिने विषयलाई प्राथमिकतामा राखेको छ ।
यद्यपि चुनावी परिणाम सम्पूर्ण रुपमा नआइसक्दै ८ मंसिरमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका थिए। उक्त टेलिफोनमा ओलीले ‘तिक्तता बढ्दा धेरै टाढा पुगिएछ भन्दै अब मिलेर जाने’ प्रस्ताव गरेका थिए । चुनावको पुरा नतिजा आउन बाँकी रहेको भन्दै प्रचण्डले ओलीलाई ठोस जवाफ दिएका थिएनन् ।
ओलीले संसद विघटन गरेर देशलाई प्रतिगमनतिर लगेको आरोप लगाउँदै माओवादीले नेपाली कांग्रेससँग गठबन्धन गरेको थियो । कांग्रेससँगको गठबन्धनबाट सन्तोषजनक परिणाम आउन नसकेको ठम्याइमा पुगेका भए पनि माओवादी नेताहरुले संविधान, व्यवस्था जोगाउन तथा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन अहिलेकै गठबन्धनको निरन्तरतालाई प्राथमिकता दिएका छन् । तत्कालै कांगेससँगको गठबन्धन तोडेर अन्त जानु स्वभाविक पनि नहुने माओवादी नेताहरुको भनाइ छ ।
‘माओवादी यो गठबन्धन तोडेर अन्त जाँदैन,’ माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल भन्छन्, ‘यो व्यवस्था जोगाउन र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि अहिलेकै गठबन्धनकै निरन्तरता नै स्वभाविक हुन्छ ।’
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि आफूहरु हालको गठबन्धनको विपक्षमा नरहेको तर यसबारेमा छलफल हुन बाँकी रहेको बताए। ‘यसबारे पार्टी र गठबन्धनभित्र छलफल हुन बाँकी छ ।