न्याय चाहियो भन्दै सर्वोच्व अगाडी रातो रंग छर्किङ

१३ मंसिर, काठमाडौं । मंगलबार बिहान सर्वोच्च अदालत अगाडि एउटा ट्याक्सी रोकियो । त्यो ट्याक्सीबाट सेतो पहिरन लगाएकी एक युवती ओर्लिइन् र रातो रंगको घोल राखिएको बट्टा सर्वोच्चको गेट अगाडि फ्याँकिन् । त्यसपछि ‘मलाई न्याय चाहियो’ भन्दै चिच्याउन थालिन् । त्यसलगत्तै प्रहरीहरुले नियन्त्रणमा लिएर उनलाई भ्यानमा राखे ।

यसरी न्याय माग्ने युवती हुन् सिरहाकी बिनु यादव । श्रीमानबाट हिंसामा पर्दा पनि न्याय नपाएको भन्दै संघर्षरत उनले आज बिहान सर्वोच्च अदालत अगाडि रातो रंग फ्याँकेर विरोध जनाइन् ।

प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेपछि उनले भनिन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’

विरोध जनाउन उनी सर्वोच्च अदालत आउन लागेको जानकारी पहिल्यै नै प्रहरी र सञ्चारकर्मीहरुले पाइसकेका थिए । त्यही भएर प्रहरीहरुको तैनाथी बढाइएको थियो । तर ती युवतीलाई रातो रंग फ्याँक्नबाट प्रहरीहरुले रोक्न सकेनन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखिसकेपछि सर्वोच्चको गेट अगाडि भेला भएका प्रहरीहरुले जारको पानी खन्याएर रातो रंग सफा गरेका थिए ।

बिनु यादवको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । उनले केही महिना अगाडि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी थिइन् ।