विश्वकपअन्तर्गत समूह ई मा रहेका स्पेन र जर्मनी १-१ गोलको बराबरी

११ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो ।

६२औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकर अल्भारो मोराटाले गोल गरेपछि जर्मनीको दवाव अझै बढेको थियो । फेरान टोरेसलाई प्रतिस्थापन गरी मैदान छिरेको ८ मिनेटमै मोराटाले जोर्डी अल्बाको पासमा ट्याप इन गोल गरेका थिए ।

समूहको पहिलो खेलमा कोस्टारिकालाई ७ गोल गरेको स्पेनले जर्मनीसँग भने अग्रता जोगाउन सकेन । ८३औं मिनेटमा स्पेनिस रक्षापंक्तिकोे कमजोरीको फाइदा उठाउँदै सब्स्टिच्युड निक्लास फुुलक्रगले गोल गरे । उनलाई जमाल मुसियालाले असिस्ट गरेका थिए ।

यो बराबरीपछि जर्मनीले समूहमा अंकको खाता खोलेको छ । स्पेन चार अंकसहित शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिका समान तीन अंक भए पनि गोलअन्तरका आधारमा क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।

समूहको अन्तिम खेलमा स्पेनले जापान र जर्मनीले कोस्टारिकासँग खेल्नेछ । सो खेलमा कम्तिमा बराबरीले मात्रै पनि स्पेन नकआउट चरणमा पुग्नेछ । जितको अवस्थामा समूह विजेता नै बन्नेछ ।

नकआउट चरणमा पुग्नका लागि जर्मनीले कोस्टारिकालाई हराउनुपर्नेछ भने स्पेनसँग जापानको हारको कामना गर्नुपर्नेछ ।