सीमा क्षेत्रमा भारतीय पक्षबाट आक्रमण भएपछि नेपाली प्रहरीद्धारा हवाई फाएर

झापा, २३ बैशाख । सीमा सुरक्षामा खटिएका नेपाली प्रहरीमाथि भारतीय समूहले आक्रमण गरेपछि सीमा क्षेत्रमा गोली चलेको छ । झापाको झापा गाउँपालिका वडा नम्वर ४ सँगै रहेको जंगे पिलर १३१ नम्वर क्षेत्रमा रहेको सुरक्षा प्रहरी पोस्टमा भारतीय समूहले आक्रमण गरेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिएका छान् । उनका अनुसार सोमबार दुई जना भारतीय नागरिक नेपाल प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो ।
सीमामा ओहोरदोहोर गर्न नदिएपछि ती फर्काइएका दुई ब्यक्तिले ४०–५० जनाको समूह बनाएर साँझ आक्रमणको प्रयास गरेका थिए । सीमामा खटिएका प्रहरीमाथि आक्रमणको प्रयास भएपछि हवाई फायर गरिएको एसपी कोइरालाले बताए । भारतीय युवाहरुले जवरवस्ति गर्न खोजेपछि प्रहरीले गोली चलाएको झापा गाउँपालिकाका स्थानीयले बताएका छन् ।
प्रहरीले हवाई फायर गरेपछि युवाहरुको समूह तितरवितर भएको थियो । घटनापछि झापामा भारतसँग सिमा जोडिएका क्षेत्रमा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सीमा सिल गरे पनि लुकिछिपी नेपाल भारत ओहोर दोहोर गर्नेहरुको संख्या बढेपछि अहिले प्रत्येक एक किलोमिटरमा अस्थायी सुरक्षा पोस्ट राखेर निगरानी बढाइएको छ ।