Breaking News

मन्त्रालयको सूचनाबिना कुनै कक्षा र तहको नयाँ भर्ना नलिनु

२३ वैशाख काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रका लागि अहिले कुनै भर्ना नलिन आग्रह गरेको छ । कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भइरहेको र लकडाउन समेत खुकुलो नभएको अवस्थामा भर्ना अभियान र नयाँ भर्ना लिने अवस्था नरहेको मन्त्रालयको भनाइ छ । हाल पठनपाठन तथा परीक्षाहरू स्थगित रहेको भन्दै मन्त्रालयले अर्को सूचना जारी नहुञ्जेल नयाँ भर्ना नलिन पनि आग्रह गरेको छ ।
सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले भर्नाका नाममा कुनै पनि शुल्क नलिन पनि आग्रह गरेको हो । हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नू, नगराउनु हुनका साथै भर्नाका नाममा कुनै पनि शुल्क लिने वा अनलाइन पठनपाठनका नाममा शुल्क लिने वा वैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्यहरू नगर्नू, नगराउनु हुन सूचित गरिन्छ,’ मन्त्रालयका सहसचिव दीपक शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।