अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हराउँदै पहिलो जित निकाल्दै दोस्रो स्थानमा

फिफा विश्वकप २०२२ अन्तर्गत हिजो राती भएको खेलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हराएको हो।

पहिलो खेलमा साउदी अरेबियासँग २(१ गोलले पराजित अर्जेन्टिनाले हिजो राती भएको खेलमा मेसी र फर्नान्डेजले एक एक गोल गरे।

मेसीले डि मारियाको पासमा खेलको ६४ मिनेटमा पहिलो गोल गरेका थिए । यससँगै मेसीले विश्वकपमा आफ्नो गोल संख्या ८ पुर्‍याएका छन्।

पहिलो गोल गरेका मेसीले दोस्रो गोलका लागि पास उपलब्ध गराए। उनले ८७ मिनेटमा दिएको पासमा इन्जो फर्नान्डेजले अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए।

जितसँगै अर्जेन्टिनाले अन्तिम १६ मा पुग्ने आसा जीवितै राखेको छ। समूहमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ३ अंक भएको छ। शीर्ष स्थानको पोल्यान्डको ४ अंक छ भने साउदीले ३ अंक र मेक्सिकोले १ अंक जोडेका छन्।

पहिलो हाफमा गोल नहुँदा अर्जेन्टिनामाथि दबाब बढेको थियो। ६४ मिनेटमा मेसीले बायाँ खुट्टाले पासलाई नियन्त्रण लिँदै पहिलो टचमै मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआलाई कुनै मौका नदिइ २० यार्डबाट गोल गरे।

८८ हजार दर्शक उपस्थित रंगशालामा अर्जेन्टिनाले दर्शकको भरपुर साथ पाएको थियो।

अब समूहको अन्तिम खेलमा पोल्याण्डविरुद्धको जितले अर्जेन्टिनालाई नकआउट चरणमा पुर्‍याउनेछ।