रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि कसरत सुरु

११,मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भावी सरकारको नेतृत्वका लागि छलफल सुरु गरेका छन् ।

पौडेलले शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटार पुगेर भेटेका छन् । शनिबार नै पौडेलले नेता विमलेन्द्र निधिलाई आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गरेका छन् ।

पौडेल निकट एक नेताका अनुसार उनको सभापति देउवाले आफू ‘रिजिड’ नहुने वचन दिएका थिए । ‘उहाँ (रामचन्द्र) कन्फिडेन्ट देखिनुभएको छ । सरकारको नेतृत्व गर्न विषयमा छलफल गर्न पार्टीभित्रका अरु नेताहरुसँग पनि छलफल गर्नुहुन्छ,’ पौडेल निकट एक नेताले भने ।

पौडेलले महामन्त्री गगन थापासँग पनि छिट्टै छलफल गर्ने ती नेताले जानकारी दिए । महामन्त्री थापाले संसदीय दलको नेता चुनिनका तयारी तीव्र पारिरहेका बेला पौडेलको सक्रियता बढेको छ । ‘गगन जीले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने भनेर नै मत माग्नु भएको छ । त्यसले सभापतिमा दबाब परेको छ,’ पौडेल निकट नेता भन्छन्,’आफ्नो विकल्पमा संसदीय दलमा रामचन्द्रलाई अघि सार्ने सम्भावना पनि छ ।’

नेता पौडेल र निधिबीच भएको संवादमा छलफल जारी राख्ने सहमति बनेको छ ।

पौडेल तनहुँ १ बाट निर्वाचित भई काठमाडौं आएसँगै भावी सरकारको नेतृत्वका लागि भेटघाट र छलफल अघि बढाएका छन् । नयाँ सरकारको नेतृत्वको चाहना पार्टीभित्र सभापति देउवा, महामन्त्री थापा, नेताहरु पौडेल, डा शेखर कोइराला, विमलेन्द्र निधि, डा शशांक कोइरालालगायत आकांक्षी छन् ।

शनिबार नै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल भएको थियो । गठबन्धनकै सरकारलाई निरन्तरता दिने दुई नेताबीच सहमति बनेको थियो । साथै, सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक छिट्टै बोलाउने दुई नेताले निर्णय गरेका थिए ।

प्रधानमन्त्री देउवासँगको भेटमा नेता पौडेलले माओवादीले धोका दिन्छ कि भन्ने आशंका राखेका थिए । माओवादी वर्तमान गठबन्धनको निरन्तरताको पक्षमा रहेको देउवाले आश्वस्त पारेका पौडेल निकट नेताले जानकारी दिए ।

समाचार तयार पार्दासम्म मत गणनामा कांग्रेसले प्रत्यक्ष तर्फ ५२ सिटमा जितेको छ भने ४ क्षेत्रमा अग्रता लिइरहेको छ । आयोगले निकालेको पछिल्लो तथ्यांक अनुसार कांग्रेसले समानुपातिकतर्फ २१ लाख ७४ हजार ६०५ मत ल्याएको छ ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धन झिनो बहुमततिर अघि बढेको छ ।