केपी ओलीको दादागिरी र सर्वसत्ताका बिरुद्ध प्रचण्ड–माधवको दीर्घकालीन मोर्चा

२३ वैशाख काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा भित्र देखिएको गुट विवादले उग्ररुप लिदैं मन्थर हुँदै गएको बेला पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध दीर्घकालीन मार्चा बनाएर जाने सहमति भएको बुझिएको छ । हालै मात्रै प्रधानमन्त्री ओलीले भैंसेपाटी गठबन्धन भत्काएर पद जोगाउन सफल भएको चर्चा चलेपनि नेकपाभित्र खैलाबैला ल्याउने गरी अर्काे दीर्घकालीन गठबन्धन बनेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा एकलौटी र दादागिरी प्रदर्शन गरेको निष्कर्षसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दीर्घकालीन गठबन्धन गर्ने घोषणा गरेका छन् ।
नेता नेपाल निवास कोटेश्वरमा सोमबार साँझ भएको भेलाले प्रचण्ड र नेपाल समूहले दीर्घकालीन सहकार्य गर्नुपर्ने घोषणा गरेको हो । भेलामा सहभागी एक दर्जन बढी स्थायी कमिटी सदस्यले नेकपामा विकसित पछिल्लो घटनाक्रमको समीक्षा गर्दै दाहाल–नेपाललाई मिलेर जान सुझाव दिएका थिए ।
वरिष्ठ नेता नेता नेपालले छलफलका लागि भन्दै सोमवार साँझ आफ्नो निवासमा आफू र प्रचण्ड निकट मानिने स्थायी कमिटी सदस्यलाई बोलाएका थिए । छलफलमा सहभागी एक नेताले भने, ‘अध्यादेशदेखि सचिवालयको निर्णयसम्मको समीक्षा भयो । स्थायी कमिटीको तयारीमा पनि छलफल भयो । हामीले विधि–पद्धतिका लागि तपाईंहरू (प्रचण्ड–नेपाल) मिलेर जानुस् भन्ने सुझाव दियौं ।
सोमवार दिउँसो स्थायी कमिटीका एजेन्डामाथि छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्रीबीच सकरात्मक कुराकानी नभएपछि दाहाल सिधै कोटेश्वर पुगेका थिए । ओली–प्रचण्ड संवाद सकरात्मक नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले संकेत गरे । उनले सोमवार राति १० बजेपछि ट्विट गरेका छन्, ‘अस्तिको सचिवालयको निष्कर्षबाट विचलनले पार्टीमा पुनः संकट ल्याउने छ ।
अतः अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, विधिपद्धतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मुख समृद्धिको काम र त्यसको लागि आत्मालोचना सहित नयाँ शिराबाट काम गर्ने संकल्प –यो हो निष्कर्ष ।
त्यसपछि नेपालले दुबै समूहका स्थायी कमिटी सदस्य बोलाएर आगामी रणनीतिवारे परामर्श लिएका थिए । छलफलमा स्थायी कमिटी सदस्यहरूले एकता पनि हुनुर्पयो र विकल्प पनि दिनुर्पयो भनेर नेता नेपालको ध्यानाकर्षण गराएका थिए । छलफलमा नेताहरूले सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलको भूमिकालाई लिएर समेत प्रश्न उठाएका थिए ।
सोमवार बिहान प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच पनि श्रेष्ठ निवासमा छलफल भएको थियो । सचिवालय निर्णय कार्यान्वयनमा अझै शंका रहेकाले प्रधानमन्त्री ओली र उनको समूहमाथि स्थायी कमिटी बैठकसम्म दबाब बनाउन प्रचण्ड–नेपाल समूह सक्रिय छ । शनिवारको सचिवालय बैठकमा आत्मालोचना गर्दै प्रधानमन्त्री ओलीले मिलेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।
सोमवारको छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यले भने, ‘ढुक्क हुने अवस्था छैन । आफ्नो तयारीमा लाग्नुपर्ने देखिएपछि संवाद थालेका हौं ।’ ती नेताका अनुसार स्थायी कमिटी बैठकसम्म यस्तो छलफल चलिरहन्छ । बैशाख २५ गते नेकपाको स्थायी कमिटी बैठक बस्दैछ ।
बैठकमा सरकार र पार्टी सञ्चालन सम्बन्धी योजना निर्माण र नेताहरूको कार्य्विभाजन गर्ने शनिवारको सचिवालय बैठकको निर्णय छ ।
सचिवालय बैठकले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा सञ्चालन गर्ने, पार्टीको मार्ग निर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख आर्थिक–सामाजिक रूपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको छ । तर त्यसको राजनीतिक परिणाम भने भोलि २४ गते सचिवालय बैठक र २५ गते बस्ने स्थायी समितिको बैठकबाट निस्कने पक्कै नै छ ।