फुल्चोकीमा हराएका ४ जना विद्यार्थीको ११ घण्टापछि उद्धार

हिजो शनिबार घुम्न गएका करिब १२५ जना बिद्यार्थी ललितपुरको फुल्चोकीमा गएका थिए । तर साँझ फिर्ता हुने बेला ४ जना विद्यार्थी हराएका थिए ।

फुल्चोकीमा हराएका चार जना विद्यार्थीको ११ घण्टापछि उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

काठमाडौंको मुलपानीमा रहेको नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी फुल्चोकीमा घुम्न गएका थिए। उनीहरूसँग ९ जना शिक्षक पनि थिए।

जंगलमा घुम्न गएका बिद्यार्थी छोटो बाटो हिँड्न खोजेपछि उनीहरू जंगलमा हराएको प्रहरीले जनाएको छ।

शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए।

खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ।