झारफुकको निहुँमा र्‍याप गायकलाई मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्री पक्राउ

काठमाडौं । र्‍याप गायक हप्याक ९मिलनजंग कुँवर०लाई झारफुक गर्ने भन्दै मुखमा अगुल्टो झोसेर यातना दिने झाँक्रीलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय, कावासोतीको टोलीले शुक्रबार दीपक सार्की भनिने ४२ वर्षीय झाँक्रीलाई पक्राउ गरेको डीएसपी सन्तोष पाठकले जानकारी दिए । उनलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइने उनले बताए ।

 

झाँक्रीले अगुल्टो झोस्दा मुख र ओठ जलेको भन्दै र्‍यापर हप्याकको परिवारले प्रहरीमा उजुरी दिएको थियो । हप्याकको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौं,’ डीएसपी पाठकले भने ।

झाँक्रीले झारफुक गर्ने भन्दै हप्याकको मुखमा अगुल्टो झोसेको भिडियो सामाजिक सञ्जालमा आएको थियो ।

टेलिभिजन रियालिटी शो नेपहपको श्रीपेचबाट चर्चामा आएका हप्याक युवापुस्तामाझ चर्चित छन् । रियालिटी शोका निर्माता सुदीप पोखरेलसहितको टोली कावासोती पुगेर हप्याकको स्वास्थ्य स्थिति बुझेको छ । उनलाई आर्थिक सहयोग पनि प्रदान गरिएको छ । घटना सार्वजनिक भएपछि दोषीलाई कारवाही गर्न नेपाली हिपहप संगीत क्षेत्रले माग गरिरहेको छ ।