कर्णाली प्रदेश आज रातीदेखि एकहप्तासम्म सिल

२२ वैशाख, काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार आज राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्म पूर्ण रुपमा बन्द (सिल) गर्ने निर्णय गरेको छ । प्रदेशको विपद व्यवस्थापन केन्द्रको आज सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।
कर्णालीसँग सीमा जोडिएको प्रदेश ५ को नेपालगञ्ज क्षेत्रमा कोरोना संक्रमितको संख्या बढेपछि सम्भावित जोखिम रोक्न प्रदेशको नाका सिल गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए । भारतलगायत तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ । यस तथ्यांकको आधारमा प्रदेश सरकारले भारत र तेस्रो देशबाट आएका सबैको कोरोना जाँचको व्यवस्था गर्ने पनि केन्द्रको बैठकले निर्णय गरेको छ ।
बैठकले प्रदेशको दुर्गम स्थानमा स्थलमार्गबाट स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पुर्याउन नसक्ने अवस्था भए हेलिकप्टरबाट पठाउने निर्णय पनि गरेको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।
त्यस्तै प्रदेशभित्र उपलब्ध निर्माण सामग्री र जनशक्तिको प्रयोग गरी मेसिन उपकरणबाट सञ्चालन हुन सक्ने विकास निर्माणका आयोजना सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।