Breaking News

भोट दिएरै १ सय ५ वर्षमा बिते भारतका पहिलो मतदाता नेगी

भारतका पहिलो मतदाताका रूपमा परिचित श्याम शरण नेगीको १ सय ५ वर्षको उमेरमा निधन भएको छ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि भारतमा सन् १९५२ मा भएको पहिलो आम निर्वाचनमा नेगीलेनै पहिलो पटक मतदान गरेको बीबीसीले जनाएको छ।

उनको शनिबार राति निधन भएको हो।  शताब्दी पुरूष नेगीले मृत्यु हुनु तीन दिनअघि पनि हिमाञ्चल प्रदेशमा विधानसभाका लागि भएको निर्वाचनमा मतदान गरेका थिए। सन् १९५२ को आम निर्वाचन यता नेगीले हरेकपटक मतदान गरेको बीबीसीले उल्लेख गरेको छ।

हिमाञ्चल प्रदेशमा भारी हिमपातलाई मध्यनजर गर्दै सन् १९५२ को आम निर्वाचनको मितिभन्दा पाँच महिना अगावै त्यहाँ मतदानको व्यवस्था मिलाइएको थियो। शिक्षकका रूपमा कार्यरत उनले पहिलो मत जाहेर गरेका थिए। त्यस निर्वाचनबाट भारतीय राष्ट्रिय कंग्रेसले बहुमत ल्याएको थियो। आम निर्वाचनमा पार्टीले बहुमत ल्याएपछि जवाहरलाल नेहरू प्रधानमन्त्री बनेका थिए।

भारतको निर्वाचन आयोगले सन् २०१४ मा नेगीलाई निर्वाचन दूत बनाउँदै मतदानका लागि युवाहरूलाई आकर्षित गर्ने श्रब्य-दृश्य सामाग्री निर्माण गरेको थियो। त्यसमा उनले युवाहरूलाई मतदानका निम्ति प्रेरित गरेका थिए।

‘निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्नु हाम्रो अधिकार मात्र नभएर कर्तव्य पनि हो। लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन युवाहरु अग्रसर हुनुपर्छ,’ उनले भनेका थिए।

नेगीको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली अर्पण गरेका छन्। उनको राष्ट्रिय सम्मान सहित अन्त्येष्टीको तयारी गरिएको छ।

एजेन्सी