रातो आलुको मूल्य ओरोलोतिर

१८ कात्तिक, काठमाडौं । रातो आलुको मूल्य प्रतिकिलो ९९ रुपैयाँ पुगेर ओरोलो लागेको छ । पछिल्लो २ वर्षयताकै महँगो बिन्दुमा पुगेर रातो आलुको मूल्य केही घट्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

शुक्रबार रातो आलुको मूल्य ७८ रुपैयाँ प्रतिकिलो तोकिएको छ । जुन १५ मंसिर २०७७ मा रातो आलुको औसत प्रतिकिलो मू्ल्य ८८ रुपैयाँ पुगेको थियो । त्यसपछि गत २६ असोजमा रातो आलुको मूल्य प्रतिकिलो ९९ रुपैयाँ थोकमा कायम भएको थियो । उक्त मूल्य पछिल्लो २ वर्ष यताकै उच्च थियो । त्यस अघि ९ कात्तिक २०७७ मा आलुको थोक बिक्री मूल्य ११४ रुपैयाँ प्रतिकिलो पुगेको थियो ।

बजार विकास समितिकाअनुसार यो वर्ष गत वैशाखदेखि रातो आलुको मूल्य बढ्न सुरु भएको थियो । १५ वैशाखमा प्रतिकिलो २८ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको आलुको मूल्य त्यसयता भने निरन्तर बढेको थियो । ६ महिनामा किलोमा ७१ रुपैयाँले बढेको आलुको मूल्य कात्तिकदेखि भने घट्न सुरु भएको हो ।

बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठकाअनुसार काभ्रेको नालामा फलेको आलु यो सिजनकै पहिलो रातो आलु भएका कारण महँगो भएको थियो ।