पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई मार्ने प्रयास गोली खानको खुट्टामा लाग्यो

एजेन्सी

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई एक अज्ञात व्यक्तिले मार्ने प्रयास गरेका छन् । उनले चलाएकोे गोली खानको खुट्टामा लाग्यो र उनी सामान्य घाइते भएका छन्। गोली हान्ने व्यक्तिको उद्देश्य त अहिले स्पष्ट भइसकेको छैन तथापि पछिल्लो हिंसा एक तनावपूर्ण राजनीतिक र्यालीमा भएको छ, जसलाई हकिकी आजादी मार्च नाम दिइएको छ ।

‘हकिकी (वास्तविक) आजादी मार्च’को सातौं दिन हो, खानले केही दिनअघि लाहोरबाट यस राजनीतिक र्याली सुरु गरेका थिए । उनले यसलाई वास्तविक आजादी मार्च भने पनि यसको एकमात्र उद्देश्य देशमा छिटोभन्दा छिटो आम निर्वाचन गराउनु रहेको छ । तर दुर्भाग्यवश यस राजनीतिक अभियानले सेना र इमरान खानलाई एक अर्काको सम्मुख खडा गरिदिएको छ ।

चरम आर्थिक संकट र मुद्रास्फीतिबाट गुज्रिरहेको मुलुकमा उनको पदयात्राले पहिलेदेखि चलिरहेको राजनीतिक संघर्षलाई थप बढाउने आशंका उत्पन्न गराएको छ । आजादी मार्चअघि आयोजना गरिएको भेलामा खानले सरकारी निकायहरू, विशेष गरी गुप्तचर एजेन्सी आईएसआईका प्रमुख लेफ्टिनेन्ट जनरल नदीमको आलोचना गरे र अघिल्लो दिन उक्त सुरक्षा निकायले आयोजना गरेको पत्रकार सम्मेलनको खिल्ली उडाए ।