रुपन्देही २ मा सत्ता गठबन्धनबाट जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय

रुपन्देही २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी उपर सर्वोच्चले अन्तरिम आदेश दिन नमानेपछि उनको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनले रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ । पाँच दलीय सत्ता गठबन्धनको आज बसेको बैठकले सो निर्णय गरेको छ ।

बैठकपछि गठबन्धनका शीर्ष नेताहरुले एक विज्ञप्ति जारी गरी थापालाई गठबन्धनको तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । रुपन्देही २ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए । चेक बाउन्नसम्बन्धी मुद्दाका कारण निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयले उनी उम्मेदवार हुन अयोग्य भएको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतको कार्यालयको सो निर्णयविरुद्ध गुरुङ असोज २७ गते रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए । तर सर्वोच्च अदालतले पनि यही कात्तिक ४ गते गठबन्धनको उम्मेदवार रहेका एकीकृत समाजवादीका गुरुङको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङ उम्मेदवारी कायम गरिपाँउ भनि माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।​