मंसिर ४ को चुनाव संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले जित्नुपर्ने

प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले जित्नुपर्ने बताएका छन्।

चुनावका लागि अग्रगमन शक्ति र प्रतिगमन शक्तिका बेग्लाबेग्लै गठबन्धन बनेको पनि उनको भनाइ छ।

अग्रगमन शक्तिहरूले संविधान, गणतन्त्र जोगाउँदै समृद्धिको दिशातर्फ अगाडि बढ्ने दाबी उनको थियो।

काठमाडौं क्षेत्र नम्बर ७ मा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ मा हुने निर्वाचन सामान्य नभएको बताए।

यो निर्वाचन अराजकता निम्त्याउने र देशलाई निरंकुशताका बाटोमा धकेल्ने शक्ति तथा संविधान र गणतन्त्र बचाउने शक्तिबीच लडाइँ भएको उनको भनाइ छ। उनले ब्याटल संविधान जोगाउने शक्तिले जित्नुपर्ने बताए।

उनले क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार मानुषी यमी भट्टराईको प्रशंसा गर्दै डाइनामिक लिडर भएको बताएका थिए।

‘उद्देश्यप्रति पूरा समर्पित भएर लाग्ने एउटा गुण मानुषीमा छ। मानुषी यही जन्मेर यही हुर्केको नाताले पनि यहाँको जनताले राम्रोसँग बुझेको नाताले पनि मलाई लाग्छ हाम्रो विजयलाई सुनिश्चित गरेको छ,’ प्रचण्डले भने।