कायर भीम रावल- अन्ततः केपी ओलीकै शरणमा

काठमाडौं । भीम रावल– नेकपा एमालेका हक्की र स्पष्ट धारणा राख्नसक्ने नेता । एमाले वृत्तभन्दा बाहिर, राष्ट्रवादी छवि ।

राष्ट्रियताको सवालमा उनले लिने कतिपय अडान अति लागे पनि धेरै अडान राष्ट्रकै पक्षमा हुने बुझाइ छ । एमसीसी लगायत विषयमा रावलले लिएका अडानले जनतामा राष्ट्रवादी छवि बनेको छ ।

सार्वजनिक धारणाकै आधारमा भीम रावललाई राष्ट्रवादी नेता किटान गर्नसक्ने आधार त छैनन् । तर, सार्वजनिक धारणा र अडानका आधार समकालीन मध्ये एउटा छवि भने बनाएकै हुन् ।

भीम रावल राष्ट्रवादी हुन या होइनन् त्यो बेग्लै कुरा हो । तर, केही कदमबाट आँट भएका हक्की नेता भन्ने सावित चाहिँ गराएकै हुन् । भीमको भीमकाय आँट एमालेको १०औं महाधिवेशनमा देखिएकै हो ।

पार्टीमा अन्तरसंघर्ष चल्दा सबैभन्दा चर्को स्वरमा अध्यक्ष केपी ओलीको सत्तोसराप गर्ने रावल नै हुन् । ओलीलाई ‘कम्युनिष्ट आन्दोलनको कलंक’ नै भनेका छन् ।

पार्टी विभाजन हुँदा भीम रावलबाट भएको एउटा मिस्टेक– एमालेमै रहने निर्णय थियो । माधव समूहको सबैभन्दा कडा नेताका रुपमा अन्तरसंघर्ष गरेका रावल अन्त्यमा लुरुक्क परेर ओलीकै शरण परे !

ओलीविरुद्ध त्यत्रो ठूलो रडाको मच्चाएपछि एमालेमै बस्ने निर्णयमा पुगेपछि ओलीको शरण पर्नुको विकल्प थिएन । १० बुँदे सम्झौता त ‘लाज छोप्ने टालो’ मात्र न थियो ।

माधवलाई विद्रोहका लागि उचाल्दा उचाल्दा गरेर आफू लुसुक्क ओलीको टाङमुनि छिर्ने रावलको निर्णय कायरताको पराकाष्ठा थियो । जुन कायरताको परिणाम निरन्तर भोग्दै आएका छन् ।

१०औं महाधिवेशनमा बाध्यात्मक परिस्थितिमा रावलले अध्यक्ष पदको उम्मेदवारी दिए । ओलीले वरिष्ठ उपाध्यक्ष बनाउने बचन मात्र दिएको भए लुरुक्क स्विकार्थे । तर, ओली त्यसका लागि तयार थिएनन् । मागेको नपाउने भएपछि ओलीका प्रतिस्पर्धी भए ।

ओलीविरुद्धको उम्मेदवारी जुन धरातलबाट तय भए पनि भीम रावलको ठूलै साहस मानियो । आत्मसमर्पण गरेर फर्केको पार्टीका सेठसँग पौँठेजोरी खेल्नु सामान्य थिएन । आँटैले बोसो पकाउन चाहिँ खोजेका थिए ।

अध्यक्ष पदका लागि रावलको उम्मेदवारीले सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहना तुहियो । तर, त्यसपछि रावलका दुःखका दिन झनै बढे । त्यसैको परिणाम हो– सर्वसम्मत सिफारिस भएर पनि टिकट खोसिनु ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि अछाम–१ बाट रावल सर्वसम्म सिफारिस भएका हुन् । रावल सर्वसम्मत सिफारिस भएपछि ओली अचम्मित भएका पनि हुन् । तर, अन्तिममा ओलीले टिकट खोसेर रावललाई सडकमै पुर्याए ।

रावलकै दशा भोगेका हुन्, अर्का नेता घनश्याम भुसालले । रुपन्देहीबाट सिफारिसमा परे पनि ओलीले भुसालको टिकट खोसे । भुसालले अन्ययविरुद्ध विद्रोह रोजे । एमाले त्याग्दै स्वतन्त्रबाट उम्मेदवारी दिएक ।

भुसालभन्दा कडा भाषामा ओलीविरुद्ध उत्रने रावलले मनोनयन दर्ताको दिनसम्म पनि केही निर्णय नलिँदा दुनियाँ चकित भए । धेरैले भुसाल जस्तै विद्रोह गर्नुपर्ने सुझाव दिएका थिए । तर, रावलले आँट गुमाए ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर पूरानै शैलीमा ओलीको सत्तोसराप गरे । आफूमाथि अन्याय भएको सुनाए । घनश्यामको निर्णयलाई अन्याय विरुद्धको विद्रोह भन्दै समर्थन गरे । तर, आफू भने पुनः लुरुक्क परे । तर, भने– ‘म एमालेमै रहन्छु ।’

एमाले भएर भीम रावलले अब गुमाउनु बाँकी छैन । आन्तरिक निर्वाचनमा पराजित भए, आम निर्वाचनमा पाइसकेको टिकट खोसियो । संसदीय राजनीतिमा आम निर्वाचनमै सहभागी हुन नपाएपछि बाँकी के नै रहन्छ र ?

हुन त पत्रकार सम्मेलनमार्फत रावलले ‘जनताको पक्षमा बोल्न र काम गर्न संसद बाहिरबाट पनि सम्भव छ’ भने । एक हदसम्म उनको बाध्यात्मक बोलीमा सत्यता छ । तर, संसद्मा बोलेपछि कानुन बन्छ, संसद बाहिर बोलेको आवाज मात्र हुन्छ । यो उनलाई पनि राम्ररी थाहा छ ।

अन्यायविरुद्ध विद्रोह गरेपछि घनश्यामले भनेका थिए– ‘मैले जनताको लागि बोल्ने थलो संसद हो । संसदमा बोलेपछि कानुन बन्छ । त्यसैले मैले संसदमा पुग्ने बाटो छोकिएको स्वीकार्न सकिन । र, एमाले परित्याग गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिने निर्णय गरे ।’

संसदीय व्यवस्थामा धनश्यामकै बुझाइ ठीक हो । संसदबाटै जनताको पक्षमा बोल्न सकिन्छ । संसदबाटै जनताको पक्षमा काम गर्न सकिन्छ । यसको मतलब संसद् सबथोक होइन, संसद् नै अन्तिम पनि होइन । तर, अहिलेको माध्यम संसद् नै हो ।

पार्टी अध्यक्षले टिकट खोस्दा पनि स्वीकार गरेर रावलले अध्यक्ष ओलीसँगको सम्बन्धमा न्यानोपन ल्याउन खोजेका हुन्
त ? भन्ने यतिखेरको प्रश्न हो ।

यस्तै प्रकृतिको निर्णय अस्वीकार गरेर घनश्यामले विद्रोह गर्दा पार्टीको निर्णय मानेर रावलले ओलीसँगका सम्बन्ध राम्रो बनाउन खोजेका हुन् त यो अर्को प्रश्न हो ।

टिकट खोसिँदा पनि बागी उम्मेदवारी नदिएर रावलले इमानदारीता देखाए झै गरेर एमालेमा ‘भीम रावल’ ठीक भन्ने वातावरण बनाउन खोजेका हुन् त ? यो पनि अर्को प्रश्न हो ।

यी तीन प्रश्न बेग्लाबेग्लै जस्तो लागे पनि उत्तर एउटै हो । एमालेमा अत्यन्तै संकटपूर्ण परिस्थिति नबनेसम्म अध्यक्ष ओलीले रावललाई विश्वास गर्ने वातावरण बन्दैन ।

एमाले अध्यक्ष ओली इख र बिख दुबै भएका नेता हुन् । ओली कति धेरै इख राख्छन् भन्ने त घाम जस्तै छर्लङ्गै छ । अन्तिम इनिङमा सर्वसम्मत अध्यक्ष निर्वाचित हुन नदिने भीम रावललाई राजनीतिमा रहुन्जेल ओलीले कसरी बिर्सुन ?

यसरी हेर्दा आलोचना गरेको आधारमा टिकट खोस्ने अत्याचारी निर्णय स्वीकार गरे पनि रावलप्रति ओलीमा प्रेम र दया जाग्ने परिस्थिति बन्न सक्दैन । रावलका दुःख उस्तै हुनेछन् । यसपछि पनि यसरी रावलमाथि ओली प्रहार बढ्दै जाने छ ।

एमाले विभाजन हुँदा ओली रोजेर गल्ती गरेका रावलले अन्यायपूर्ण तरिकाले टिकट खोसिँदा पनि ओलीकै शरण परेर अर्को गल्ती गरेका छन् । यसले रावललाई झनै कमजोर बनाउने छ ।

राजनीतिक जीवनको अन्त्यतिर रावलले जे–जे निर्णय गर्दैछन् त्यो उनकै लागि घातक हुँदै जानेछन् । राजनीतिमा जति पाको हुँदै गयो त्यति नै शक्ति गुमाउँदै जाने नेताका रुपमा रावलको छवि बन्दै जाने देखिन्छ ।

औषतमा आँटिला नेताको रुपमा छवि बनाएका रावलको अन्तिम रुप त ‘कायर’ नै रहेछ भन्ने विभिन्न घटनाक्रमले पुष्टि गर्दै आएको छ । भीम रावल, निदएको बाघको जुँगा तानेर आफूलाई बहादुर देखाउने कायर पात्र मात्र हुन् ।

नगरेको गल्तीको सजाय भोग्न तयार भएर रावलले आफूलाई दासको पंक्तिमा उभ्याएका छन् ।

दृष्टि न्यूजबाट