जनता डस्ने ओलीका ‘अन्ध सर्प’हरू

मंसिर ४ गते, नेपाल र नेपाली जनताका लागि राजनीतिक भविष्य फैसला गर्ने दिन हो । यसका लागि प्रतिगामी र अग्रगामी आमने–सामने भिड्दै छन् । समयक्रमले एमालेलाई प्रतिगामी कित्तामा उभ्याएको छ भने नेपाली कांग्रेसले अग्रगमनको नेतृत्व गर्दैछ ।

नेपाली जनताको पटक–पटकको संघर्ष र बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र ध्वस्त पार्न एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका कमल थापासँग घोषित सहकार्य गरेका छन् भने अन्य राजावादी समूहसँग भित्री साँठगाँठ गरेका छन् ।

सबैलाई थाहा भएको कुरा हो, यो संविधान जारी गर्दा जो–जो असन्तुष्ट थिए, तिनैले यो संविधान ध्वस्त पार्न ओलीलाई प्रयोग गरेका छन् । ओलीले यो कुरा नबुझेका होइनन्, तर उनी प्रतिगामी कित्ताबाट पछाडि फर्कन सक्दैनन् । त्यही बाध्यताले उनले पुस ५ गतेको कदम चाले ।

पुस ५ को प्रतिगमन जनताको इच्छा थिएन । जनताले त एमालेलाई २०७४ सालको निर्वाचनमा राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका लागि दुईतिहाइ मत दिएका थिए । त्यो मत त्यसै खेर गयो ।

पाँच वर्षमा संविधान प्रदत्त मौलिक हकहरु कार्यान्वयन गर्नेदेखि सुशासनको पक्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, दुर्भाग्य ओली स्वयं संविधान मास्न र भ्रष्टाचारी, माफियाहरुको संरक्षण गर्न उद्यत भए ।

ओली सरकारले साढे तीन वर्षमा गरेका थुप्रै काण्डहरु मिडियाले सार्वजनिक गरिसकेका छन् । यस्ता कुराहरुलाई गहिरोसँग विश्लेषण गर्ने हो भने एमालेलाई भोट दिने कुनै एउटा आधार फेला पर्न सक्दैन ।

किनभने, २०७४ सालको निर्वाचनमा एमालेले जनताका सामु जुन प्रतिबद्धता जाहेर गरेको थियो, त्यो एउटा पनि कार्यान्वयन हुन सकेन । तै पनि एमालेका ‘अन्ध सर्प’हरुलाई ओलीको बिनबाजाले नचाइरहेको छ । त्यसैमा अन्ध सर्पहरु रमाइरहेका छन् ।

निर्वाचन ख्यालठट्टाको विषय होइन । निर्वाचन भनेको हरेक नागरिकले आफ्नो विवेक प्रयोग गर्ने सुनौलो अवसर हो । यसमा नागरिक चुके भने देशकै अस्तित्व समाप्त हुन सक्छ । सपेराहरुका कारण कथित लोकतान्त्रिक माध्यमबाट धेरै देशको अस्तित्व समाप्त भएको उदाहरण हाम्रै आँखा अगाडि छ ।

त्यसैको ‘रिहर्सल’ मंसिर ४ गतेको निर्वाचन हो । यस निर्वाचनमा जनता चुके भने देश पुस ५ गतेकै अँध्यारो सुरुङमा फस्ने छ । त्यही मौकामा अन्ध सर्पहरुले देश र जनतालाई डस्ने छन् । मंसिर ४ गते यति कुरा बुझ्नुपर्छ ।

दृष्टि न्यूजबाट