मैले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको हो

नेता भीम रावल

२७ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गर्दै, आफूले राष्ट्र र राष्ट्र हितका पक्षमा बोलेकै कारण पार्टी अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको बताएका छन् ।

पत्रकार सम्मेलन गर्दै उनले आफूले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण टिकट नदिएको बताए ।

उनले पार्टी भित्र र पार्टी बाहिर ओलीले गरेका स्वेच्छाचारी निर्णयको आफूले सधैं विरोध गरिरहेको बताए ।

पार्टी विभाजन रोक्नका लागि आफूहरुसँग भएको १० बुँदे सहमति पनि ओलीले कार्यान्वयन नगरेको आरोप रावलले लगाए । उनले १० बुँदे सहमति गर्नेलाई १० भाइ र १० बुँदेवाला भनेर चुनावमा टिकटमा भेदभाव गरेको आरोप पनि
लगाए ।

रावलले दशकौं पार्टीमा पसिना बगाएका इमान्दार कार्यकर्तालाई पाखा लगाएर जनताबाट अस्वीकृत व्यक्तिलाई उम्मेदवार बनाउनु कसरी न्याय संगत भयो भनेर प्रश्न पनि गरेका छन् ।