दुई अध्यक्षको अकस्मातको रहस्य खुल्दै

२१ बैशाख, काठमाण्डौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच कसरी अकस्मात सहमति बन्यो भन्ने रहस्य विस्तारै खुल्दै गएको छ । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको तिखो आलोचना गरेका र राजीनामा मागेका पार्टी अध्यक्ष प्रचण्ड शनिबार बैठकमा एक सय असी डिग्री उल्टिएर प्रधानमन्त्रीसँग मिलेर अगाडि जान सहमत भएपछि अड्कलबाजी जारी छन् ।
पार्टी नेता माधव नेपाल पक्षसँग मिलेर प्रधानमन्त्रीको राजीनामा मागिरहेका प्रचण्डले नेता नेपाललाई पनि थाहा नदिकन ओलीसँग ’सुलह’ गरेका हुन् ।
प्रधानमन्त्री ओली र प्रचण्ड मिलेर एकजनाले सरकार र अर्कोले पार्टी कामको नेतृत्व गर्ने पुनः सहमति भएको बालुवाटार स्रोतले बतायो । प्रचण्डनिकट नेताले पनि त्यसको पुष्टि गरे । साथै मुख्य ’राजकीय काम’ मा दुवैले सल्लाह र परामर्श गरेर काम गर्ने सहमति भएको दुवै स्रोतले उल्लेख गरे ।
यसअघि गत मंसिर ४ गते पनि दुई अध्यक्षबीच अर्को संसदीय चुनाव नहुन्जेल प्रधानमन्त्री ओलीले नै सरकारको नेतृत्व गर्ने र कार्यकारी अध्यक्षका रूपमा प्रचण्डले पार्टी कामको नेतृत्व गर्ने लिखित सहमति भएको थियो । सो सहमतिको भाषा गाँजे–माजे थियो । पार्टीमा दुवै जना अध्यक्ष रहने, प्रधानमन्त्री ओलीको वरीयता पहिलो रहने उल्लेख थियो ।
’पार्टीको बैठक संयुक्त अध्यक्षतामा सञ्चालन गर्ने, आमरूपमा पार्टी अध्यक्षता र सञ्चालन कमरेड प्रचण्डले गर्ने’ भनेर लेखिएको थियो । यसको अर्थ हो— प्रधानमन्त्री ओलीले प्रचण्डलाई अध्यक्षता गर्न दिउन्जेल प्रचण्डले गर्ने, ओलीले चाहेका बेलामा आफैंले अध्यक्षता गर्ने । व्यवहारमा भयो पनि त्यस्तै ।
पार्टीमा मतभेद बढ्दै गएपछिका दर्जनौं बैठकको अध्यक्षता प्रधानमन्त्री ओलीले एक्लै गरेका छन् । यसपालि त्यो सहमति थप प्रष्ट पारेर आउनेछ । दुवै अध्यक्षबीच विश्वास पनि बढेको छ । दुई अध्यक्षबीच मनमुटाव बढेको अर्को विषय, प्रधानमन्त्री ओली सरकारले गरेका काम र नियुक्ति हो । त्यसमा ओलीले एकलौटी गरेको प्रचण्डको आरोप छ ।
’राजकीय विषयमा पनि दुई अध्यक्षबीच सरसल्लाह र सहमति बढाउने निर्णय भएको छ । पछिल्लो पटक चीनका लागि राजदूत लिलामणि पौडेललाई बेइजिङबाट अचानक फिर्ता बोलाइएकोमा प्रचण्ड रुष्ट थिए । प्रचण्ड नेतृत्वमा बनेको कांग्रेस–माओवादी सरकारले पौडेललाई राजदूत नियुक्त गरेको थियो ।
ओली र प्रचण्डबीच पछिल्लो पटक भएका सहमति दुवैले आउने स्थायी कमिटी बैठकमा प्रस्तावका रूपमा लैजाने तयारी गरेका छन् ।
’दुई अध्यक्ष कसरी र के एजेन्डामा मिल्नुभयो भन्ने सबैलाई थाहा हुनेगरी स्थायी कमिटीमा प्रस्ताव जानेछ,’ ती नेताले भने, ’त्यही आधारमा पार्टीको एकता र विश्वास अघि बढ्नेछ ।

दुई अध्यक्षबीच सुलह गर्ने प्रयास गत हप्ता देखि नै सुरू भए पनि बुधबारदेखि तीव्र भएको थियो। गत आइतबार प्रधानमन्त्रीका विश्वासपात्र तथा पाँच नम्बर प्रदेश मुख्यमन्त्री शंकर पोखरेल ऊर्जामन्त्री वर्षमान पुनलाई लिएर प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
त्यहाँ दुई घन्टा छलफलमा पोखरेलले ’किन दुई अध्यक्ष मिल्नु आवश्यक छ’ भनेर व्याख्या गरेका थिए । दुई पार्टीबीच एकीकरणको नेतृत्व गरेका शीर्ष नेताबीच जतिसुकै मनमुटाव र अविश्वास पैदा भए पनि दुवै एक ठाउँ उभिनुको विकल्प नभएको तर्क उनले गरेका थिए । दुई नेताबीच कतिपय विषयमा असहमति विकास भए पनि तिनको हल गर्न सम्भव भएको उनले बताएका थिए ।
सो छलफलमा उपस्थित मन्त्री पुनले पनि दुई अध्यक्ष नै मिलेर अघि बढ्नुपर्ने आफ्नो विचार राखेका थिए । प्रधानमन्त्रीले अध्यादेश पारित गर्न मन्त्रिपरिषदमा प्रस्ताव राख्दा त्यसो गर्न नहुने राय राख्नेमा पुन पनि थिए ।
घनश्याम भुषाल, प्रदिप ज्ञवाली र पुनले अहिलेको समयमा अध्यादेश पारित गर्नु उपयुक्त नहुने भन्दै विरोध गरेका थिए । प्रधानमन्त्रीले अध्यादेश जरूरी भएको भन्दै पास गराएका थिए । पार्टी्भित्रको विवाद बढ्दै गएर प्रधानमन्त्री हटाउनु मागमा पुग्यो । त्यसको पुनले समर्थन गरेनन् ।
आइतबार पोखरेल र पुनले दुई घन्टा छलफल गरे पनि प्रचण्ड उनीहरूको कुरामा सहमत थिएनन् । त्यो बेलासम्म प्रधानमन्त्री ओली सहमतिमा आउन नमाने उनलाई हटाउनुपर्छ भन्नेमा प्रचण्ड, माधव नेपाल, वामदेव गौतम लगायत नेता सहमत भइसकेका थिए ।
बुधबार सचिवालय बैठकमा प्रचण्ड र नेपालले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि ओलीले वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्ड–नेपाल खेमाले वामदेवलाई प्रधानमन्त्री बनाउनुपर्ने र त्यसका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान सचिवालय बैठकमा राख्ने तय गरेका थिए ।
’दुवै पक्ष एक अर्कालाई भित्तामा पुर्याउने हिसाबले अघि बढेपछि दुई अध्यक्षबीच सुलह गर्नुपर्ने दबाव बढ्यो,’ ती नेताले भने, ’नत्र पार्टी दुर्घटनामा पर्ने अवस्था आउन लागेको थियो ।
वामदेव गौतमले पनि प्रचण्ड–नेपाल समूहको साथ छाडेपछि प्रचण्डले प्रधानमन्त्री ओलीसँग संवाद बढाएका थिए । बिहीबार र शुक्रबारको प्रयासपछि दुवै अध्यक्षबीच सहमति बनेको पनि ती नेताले दाबी गरे । दुवै नेताबीचको सहमति अर्का नेता माधव नेपाललाई एक्ल्याउन नभएको पनि उनले दाबी गरे ।
’सबैलाई मिलाएर, पार्टी एकताबद्ध बनाएर अघि लैजाने हो,’ उनले भने, ’त्यसका लागि दुवै अध्यक्ष केही मन्त्री र मुख्यमन्त्रीहरू परिवर्तन गर्न पनि तयार हुनुहुन्छ ।
सेतोपाटीाट