नेपालगंञ्जमा एकै दिन १५ जना कोरोना संक्रमित भेटिए

२१ वैशाख, बाँके । कोरोना भाइरसका संक्रमित थपिने क्रमसगै आज बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् । उनीहरु ७ देखि ५८ वर्ष उमेरका रहेका छन् ।
१९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको छ भने अरुको नेगेटिभ आएको छ । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गरिनेछ ।
आइतबार नै पर्साको वीरगञ्जमा एक जना संक्रमित भेटिएका थिए । नेपालगञ्ज र वीरगञ्ज गरी आइतबार एकै दिन नेपालमा १० जना कोरोना संक्रमित भेटिएका हुन् ।
त्यस्तै नेपालगञ्जमौ आज फेरि थप ६ जनामा कोरोना संक्रमण पुष्टि बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।