विश्व संकटमा रहेको र विश्व व्यवस्था लाचार बन्दै गएको छ

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेस

५ असोज, काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले वैश्विक अवस्थाबारे गहिरो चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार राष्ट्रसंघ महासभा बैठकको क्रममा संसारभरका नेताहरूलाई चेतावनी दिँदै उनले भने, ‘हाम्रो विश्व ठूलो समस्यामा छ। विभाजनहरू गहिरो हुँदै गइरहेका छन्स असमानता फराकिलो हुँदै गइरहेको छस चुनौतीहरू फैलिरहेका छन्, ‘ हामीलाई आशा चाहिन्छ ‘ हामीले पूर्णरूपमा काम गर्नुपर्नेछ ।’

महासचिव गुटेरेसले हाम्रो विश्व संकटमा रहेको र विश्व व्यवस्था लाचार बन्दै गएको बताए । उनले भने, ‘सहकार्य र संवाद नै अगाडि बढ्ने बाटो हो । कुनै पनि शक्ति वा समूह एक्लैले ठूलो विश्वव्यापी चुनौती समाधान गर्न सक्दैन । हामीलाई वैश्विक एकता चाहिन्छ ।’

महासभालाई कडा चेतावनी दिँदै गुटेरेसले थपे, ‘अन्तर्राष्ट्रिय समुदाय हाम्रो युगको नाटकीय चुनौतीहरूको सामना गर्न तयार वा इच्छुक देखिंदैन ।’

उनले भने, ‘विश्व समुदायले आगामी तीन वर्षभित्रै जलवायु संकट, द्वन्द्व, बढ्दो गरिबी र असमानतालाई गम्भीर भएर सम्बोधन गर्नुपर्छ ।’

उनले संयुक्त राष्ट्र संघको बडापत्र र यसका आदर्शहरू नै खतरामा परेको बताए । ‘हामीले अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको संरक्षणका लागि सबै ठाउँमा ठोस कदम चाल्न आवश्यक छ,’ उनले भने ।

उनले युक्रेनमा रुसी आक्रमणपछि विश्वका प्रमुख शक्तिबीचको सम्बन्ध नराम्ररी बिथोलिएको बताए । उनले संकटमा पर्दै गएको विश्वलाई जोगाउन र कोभिड महामारीलाई सम्बोधन गर्न विश्वका नेताहरूले उल्लेख्यरूपमा प्रयास गर्नुपर्ने बताए ।

महासचिव गुटेरेसले सामाजिक सञ्जाल प्लेटफर्महरूले घृणा र नकारात्मकता फैलाएको आरोप पनि लगाए।

संयुक्त राष्ट्रसंघको महासभाको बैठकमा सहभागी हुन विश्वका १९३ देशका नेता न्यूयोर्क आइपुगेका छन् । यसपटक चीनका राष्ट्रपति सी जीनपीङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुनेछैनन् ।