बैंक कर्जाको ब्याजदर १८ प्रतिशत पुग्यो, ऋणीलाई तनाव

तरलता अभावकाबीच बैंक कर्जाको ब्याजदर उच्च विन्दुमा पुगेको छ । ‘क’ वर्गको वाणिज्य बैंकहरुले प्रदान गर्ने कर्जाको ब्याजदर नै १८ प्रतिशत हाराहारी पुगेको हो । उसो त असोज महिनाका लागि वाणिज्य बैंकहरुले निक्षेपमा नै अधितम १२.१३ प्रतिशत ब्याजदर प्रदान गरिसकेका छन् । सामान्य बचतमा नै ६ देखि ८ प्रतिशत ब्याजदर प्रदान गरेका बैंकहरुले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याजदर प्रदान गरेका हुन् ।

अघिल्लो महिना यस्तो ब्याजदर मुद्दती निक्षेपमा बैंकहरुले ११.०३ प्रतिशतसम्म दिएका थिए । तर, असोज महिनाका लागि एकाएक बैंकहरुले ब्याजदर वृद्धि गरिदिएपछि बजारमा तरंग नै मच्चिएको छ । नयाँ ऋण लिन चाहनेहरु तर्सिन पुगेका छन् भने पुराना ऋणीहरू उच्च ब्याजदरको चपेटामा परेका छन् ।

यसअघिको भद्र सहमति तोड्दै नेपाल बैंकर्स संघले असोज महिनाका लागि ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै छाडिदियो । बैंकहरुले आफु खुशी ब्याजदर निर्धारण गरे । तथापि, राष्ट्र बैंकको नीति एक पटकमा कायम ब्याजदरको बढीमा १० प्रतिशतले मात्र थप÷घट गर्न पाउने प्रावधानका कारण बैंकहरुले असोज महिनाका लागि १० प्रतिशतले मात्र ब्याजदर बढाएका छन् । बढेको ब्याजदर अनुसार मुद्दती निक्षेपको ब्याजदर १२.१३ प्रतिशत पुगेको छ ।

थप, रेमिट्यान्स बचत खातामा बैंकहरुले १ प्रतिशतसम्मले बढी ब्याजदर दिन पाउछन् । यसो हुँदा निक्षेपको ब्याजदर १३.१३ प्रतिशतसम्म पुग्छ । बचतमा नै १३.१३ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्नु परेपछि बैंकहरुको कस्ट अफ फन्ड (लगानी) नै बढ्दा त्यसको सोझैं असर यता कर्जाको ब्याजदरमा परेको छ । जसको खर्च उठाउन र आफ्नो नाफा बुक गर्न पनि बैंकहरुले कर्जामा १८ प्रतिशतसम्म ब्याजदर लगाउन थालेका छन् ।

प्रिमियम चार्ज बढाउँदै बैंकहरू

निक्षेपको ब्याजदर बढेसँगै यता बैंकहरुले कर्जाको प्रिमियम चार्ज बढाउन थालेका छन् । असोज महिनाका लागि नयाँ ब्याजदर तोकेका वाणिज्य बैंकहरुले गत साउनकै आधारदर (बेस रेट) र कर्जा/निक्षेप अन्तर (स्प्रेडरेट) कायम गर्दै थप कर्जाको प्रिमियम बढाएका हुन् ।

२६ वटा वाणिज्य बैंकहरू मध्ये अधिकांश बैंकहरुले आफ्नो कायम प्रिमियममा ६ देखि ७.५० प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर लगाउने भएका छन् । सनराइज बैंकले साउन महिनाकै बेस रेट कायम गर्दै असोज महिनाका लागि पनि १०.८१ प्रतिशत कायम गरेको छ । तर बैंकले प्रदान गर्ने विविध घर कर्जा, गाडी कर्जासँगै व्यवसायिक तथा शैक्षिक कर्जामा समेत बेस रेटमा थप ७ प्रतिशतसम्म प्रिमियम जोडेर लिने जनाएको छ ।

बैंकले कायम गरेको बेस रेटमा ७ प्रतिशत नै प्रिमियम लिए कर्जाको ब्याजदर १७.८१ प्रतिशत पुग्ने देखिन्छ । यद्यपि, साउन महिनाकै लागि बैंकले कायम गरेको स्प्रेड रेट भने ४.३४ प्रतिशत मात्र रहेको छ ।

यस्तै, १०.५५ प्रतिशत बेस रेट रहेको सिटिजन्स बैंकले कर्जा लगानीमा ४.७५ प्रतिशतदेखि ७ प्रतिशतसम्म प्रिमियम चार्ज गर्ने जनाएको छ । यसो हुँदा बैंकको कर्जाको ब्याजदर १७.५५ प्रतिशतसम्म पुग्न सक्छ ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले साउन महिनाका लागि १०.५२ प्रतिशत बेस रेट तोकेको छ ।

जसमा बैंकले प्रस्ताव गरेको ४ देखि ७ प्रतिशत प्रिमियम थपिए कर्जाको ब्याजदर १७.५२ प्रतिशत पुग्छ । तर, बैंकले कर्जामा अधिकतम १४.७९ प्रतिशतसम्म मात्र ब्याजदर लिने जनाएको छ ।

यस्तै, १०.२९ प्रतिशत बेस रेट तोकेको कुमारी बैंक, १०.७३ प्रतिशत बेस रेट तोकिएको सिभिल बैंक, १०.२७ प्रतिशत बेस रेट तोकिएको हिमालयन बैंक, १०.०४ प्रतिशत बेस रेड तोकिएका एनआईसी एसिया बैंक र बैंक अफ काठमाडौं बैंकको समेत तोकिएको ४ देखि ७ प्रतिशत प्रिमियम थपिए कर्जाको ब्याजदर १७.५० हाराहारी पुग्ने देखिन्छ ।

यद्यपि, बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्दा राष्ट्र बैंकले तोकिदिएको ४.४ प्रतिशतको स्प्रेडदरको सीमालाई भने बैंकहरुले ख्याल गर्नुपर्ने हुन्छ । बैंकहरुले निक्षेपमा दिने अधिकतम ब्याजदर र कर्जामा लिने ब्याजदरको अन्तर बढीमा ४.४ प्रतिशतसम्म राख्न सक्छन् ।

कुन बैंकको आधारदर र स्प्रेडदर के छ ?