कोराना युक्त भएका १९ वर्षे युवकमा पुन कोरोना संक्रमण आशंकामा आइसोलेसनमा भर्ना

२१ वैशाख, वीरगञ्ज । कोरोना भाइरस संक्रमित भई नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका एक युवक पुनः अस्वस्थ भएपछि उपचार गर्न वीरगञ्ज ल्याइएको छ । रौतहटको ईशनाथ नगरपालिकाका १९ वर्षीय युवकको रिपोर्ट शंकास्पद देखिएपछि उनलाई पुनः वीरगञ्जस्थित नारायणी अस्पतालमै ल्याइएको हो ।
नारायणी अस्पतालबाट वीरगञ्जका तीन जना र रौतहटका ती युवक कोरोनामुक्त भएको भन्दै एक साता अघि डिस्चार्ज भएका थिए । १९ वर्षीय ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनी एम्बुलेन्समा घर गएका थिए । घरमा परिवार र आफन्तसँग बस्दै आएका थिए ।
ति युवालाई स्वास्थ्यमा मस्या देखिएपछि शनिबार बेलुका उनलाई लिन स्वास्थ्यकर्मीको एक टोली रौतहट गएको थियो । रौतहटको इशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले कोरोनामुक्त भएर आएका युवकलाई पुनः वीरगञ्ज लगिएको पुष्टि गरे । ‘गाडीमा आएको एउटा टोलीले उनलाई पुनः वीरगञ्ज लगेको छ,’ गुप्ताले भने, ‘तर किन लगिएको हो भन्ने थाहा छैन ।

बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो । त्यसको रिपोर्ट शंकास्पद देखिएको स्रोतले जनाएको छ ।
कोरोना संक्रमितमा देखिने कुनै पनि लक्षण आफूमा नदेखिएको तर पनि डेढ महिनादेखि दुःख पाइरहेको उनको भनाइ छ । ‘कोरोना संक्रमितलाई ज्वरो आउँछ, स्वास प्रश्वासमा समस्या आउँछ भन्छन्,’ उनले भने, ‘तर मलाई डेढ महिनादेखि न खोकी छ, न सर्दी ज्वरो छ ।
ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।