धादिङमा अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी भर्ना शय्या अपुग हुने अवस्था

पछिल्लो चरणमा देशभरमा डेङ्गुका बिरामी बढ्ने क्रम जारी छ । यस क्रममा जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन् । एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन् ।

लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका स्रोतले बाएको छ। “दैनिक १०–१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन् ।

हिजो बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेङ्गुका बिरामी भर्ना भएका छन् । सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको छ। सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेङ्गु पुष्टि गरेको छ । निजी अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको सङ्ख्या यकिन छैन । धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेङ्गुका बिरामी बहि रङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका छन् । ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन् । अस्पतालमा शय्या अपुग हुने अवस्था आएको छ ।