Breaking News

पल शाहलाई बलात्कार मुद्दामा सफाइ दिंदै यौन दुरुपयोग अभियोगमा २ वर्ष ६ महिना जेल सजाय

 

गएको चैतमा नायक तथा अभिनेता पल शाहमाथि नाबालिग गायिकाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि सोही केसमा थुनामा रहेका शाहलाई आज बलात्कार मुद्दामा सफाई दिंदै यौन दुरुपयोग गरिएको अभियोगमा २ वर्ष ६ महिना जेल सजाय तोेकिएको छ । आज नवलपुर जिल्ला अदालतले यस्तो सजाय तोकेको छ । गएको चैेत्रमा पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाउँदै १२ देखि १४ वर्ष कैद सजायको माग
थियो ।

नवलपुर जिल्ला अदालतले उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ । साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको कारण अभिभावकीय जिम्मेवारी पूरा नगरेकामा सचेत समेत गराइएको छ । साथै सञ्चारमाध्यमले पीडितको पहिचान खुल्ने गरी समाचार प्रकाशन तथा प्रसारण गरेको कारण पीडितको वैयक्तिक गोपनीयतामा क्षति पुगेको कारण त्यसतर्फ सचेत भइदिन आग्रह गरिएको छ ।

नवलपुर जिल्ला अदालतबाट सफाइ पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको
छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाइ पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।