१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू-तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मुद्दा दायर हुनेमा श्रेष्ठसहित सव-इन्जिनियर दानबहादुर वुढ्थापा, सोरु गाउँपालिका ४ का तत्कालीन वडाध्यक्ष डवले शाही, दैरीखोला रावलवाडा तटबन्धन आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल दमाई छन् ।
उनीहरुले मुगुको सोरु गाउँपालिका ४ स्थित दैरीखोला रावलवाडा तटबन्धन कार्यक्रमका लागि आएको तारको जाली बिक्री गरी १८ लाख १० हजार ८४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।