Breaking News

उम्मेदवारले १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने र विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नपाउने

६ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्‍य निर्वाचनमा उम्मेदवारवालाई बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने प्रस्ताव आएको छ ।

निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचार संहितामा दल वा उम्मेदवारले बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव आएको हो ।

‘दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने,’ निर्वाचन आचारसंहिताको प्रस्तावमा उल्लेख छ ।

यसअघिका निर्वाचनमा राष्ट्रिय झण्डाबारे केही उल्लेख नभएता पनि यसपाली गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले राष्ट्रिय झण्डाको प्रयोग गरेपछि त्यसबारे प्रश्न उठेको थियो ।

यसपटक प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि स्वतन्त्र उम्मेदवारहरु उठ्ने देखिएको र उनीहरुले राष्ट्रिय झण्डा नै प्रयोग गर्ने भएकाले पछि विवाद नआओस् भनेर निर्वाचन आयोगले यो प्रस्ताव ल्याएको हो ।

त्यस्तै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न अनुमति नदिने भएको छ ।

भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको हो । यसअघिका निर्वाचनमा पनि सिमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो ।

‘बढीमा दुईवटा दुई पाङ्ग्रे, वा तीनपाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने छ,’ प्रस्तावित आचारसंहितामा उल्लेख छ,‘तर विदेशी नम्बर प्लेटको सवारी साधनलाई त्यस्तो अनुमति दिइने छैन ।’

यस्तै दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने प्रस्ताव पनि आचार संहितामा उल्लेख गरिएको छ ।