६ भदौ, काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह आज बिहान कार्यालय समय सुरु हुनै लाग्दा नयाँ बानेश्वरमा प्रकट भए ।
बानेश्वरमा बालेन देखिएपछि भीड बढ्ने नै भयो । भीडमा मान्छेहरुको जिज्ञासा थियो, ‘बालेन किन आए बानेश्वर ।
प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी सहित बालेन ‘एक्सन’का लागि बानेश्वर पुगेका थिए । उनको ‘एक्सन’ थियो, बानेश्वर आसपासमा रहेका अण्डरग्राउण्डका पसल हटाउने ।
घरधनीहरुले अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्सापाससहित घर बनाए पनि ती अण्डरग्राउण्डमा पार्किङ नभएर पसल थिए । त्यसैले महानगरपालिकाले ३५ दिनअघि नै अण्डरग्राउण्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना निकालेको थियो । तर त्यो सूचना कार्यान्वयन नभएपछि बालेन आफैं मैदानमा उत्रिएका थिए ।
बानेश्वरको एउटा भवनको अण्डरग्राउण्डमा पसेका बालेनले त्यहाँ रहेका व्यवसायीसँग भने ‘तपाईंलाई ३५ दिने सूचनाको बारेमा थाहा थियो की थिएन ?
‘थाहा थियो’, पसले बोले ।
‘थाहा थियो भने पार्किङ गर्ने ठाउँको व्यवसाय किन नहटाउको ?’ बालेनले उनलाई रोक्दै भने, ‘तुरुन्तै हटाउनुस । भोलि बिहानसम्म हटाउनुपर्यो ।’
त्यसपछि बालेन फुटपाथमा उक्लिएर जी–सप रहेको अन्डरग्राउण्ड छिरे । पसलमा रहेकी एक महिलाले तत्कालै हटाउन सक्ने अवस्था नभएको तर घरबेटीलाई ३५ दिने सूचनाबारे जानकारी दिइसकेको बताइन् ।
त्यसपछि बालेनले जवाफ दिए, ‘अहिलेबाट सामान प्याक गरेर भोलि बिहानसम्ममा हटाउनुस् ।
बालेनले सामान प्याक गर्ने मान्छे नभए तत्काल स्वंसेवक परिचालन गर्न सक्ने समेत बताउँदै भोलि (मंगलबार) बिहानसम्म नहटाए महानगर आफैंले हटाउने चेतावनी दिए ।
त्यसपछि बालेन छेउमै रहेको अर्को अण्डरग्राउण्डमा ओर्लिए, जहाँ होटल सञ्चालनमा थियो । बालेनले सोधपुछ गर्ने क्रममा होटल सञ्चालक कसैलाई फोन गर्दै थिए ।
त्यो देखेर बालेन जंगिए, ‘तपाईँले जसलाई फोन लगाउनुस, संसारभरी अण्डरग्राउण्ड पार्किङको लागि प्रयोग भएको छ । बढि भएको भए गोदाम भएको छ ।’
उनले अण्डरग्राउण्ड तुरुन्त खाली गरेर पार्किङका लागि खुला गर्न निर्देशन दिए ।