लघुकथा समाजले १४औँ लघुकथा दिवसको अवसर पारेर साहित्यकार अनिता तुलाधरलाई सम्मान

लघुकथा समाजले १४औँ लघुकथा दिवसको अवसर पारेर साहित्यकार अनिता तुलाधरलाई सम्मान गरेको छ । राजधानीस्थित सर्वनाम नट्यशाला, कालिकास्थानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा अभिव्यक्ति द्वैमासिकका सम्पादक नगेन्द्रराज शर्माले तुलाधरलाई सो पुरस्कारले सम्मान गरेका थिए । साथै लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले २१ हजार १ रुपियाँको राशि पनि तुलाधरलाई हस्तान्तरण गरेका थिए ।

नेपाली साहित्यमा लघुकथाको विकासका लागि तीसको दसकदेखि लघुकथा लेखन तथा प्रवर्धन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै उनलाई यो पुरस्कार प्रदान गरिएको हो । उनको गुरु नामक लघुकथा सङ्ग्रह प्रकाशित छ ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथा दिवस भदौ ४ गतेदेखि ११ गतेसम्म मनाइने बताए । उनले  चौधौँ लघुकथा दिवसका अवसरमा सबैलाई शुभकामना पनि दिए । उनले भने, “यो १४औँ वर्षसम्म खनिएका बाटाहरूमा अब अफ्ठ्यारा समस्या छैनन् । अबका बाटा सुगम छन् ।” लघुकथालाई अझै बढी लोकप्रिय बनाउन सबै सङ्घसंस्था, व्यक्ति, सबै लघुकथाकर्मीहरू लाग्न उनले अनुरोध पनि गरे ।

कार्यक्रममा बोल्दै लघुकथा समाजका सदस्य लक्ष्मणप्रसाद गौतमले लघुकथा समाजलाई यति धेरै विश्वास गरेर पुरस्कारको लाखौँ रुपियाँ जिम्मा दिई पुरस्कृत व्यक्तित्व छनोटको जिम्मा दिनु महत्त्वपूर्ण कुरा भएको बताए । समाजप्रति विश्वास भएर नै यो कार्य भएको उनले बताए । पूर्णप्रसाद ब्राह्मण पुरस्कारबाट अनिता तुलाधरलाई प्रदान गरेर पुरस्कृत व्यक्तित्वमात्र होइन, पुरस्कारको गरिमा पनि बढेको उनले बताए ।

पुरस्कृत अनिता तुलाधरले आफ्नो पचास वर्षदेखिको लेखन कार्यलाई मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरेकोमा समाजलाई धन्यवाद दिइन् । उनले भनिन्, “मेरो लघुकथा २०२४ सालमा प्रकाशित भए पनि लघुतम कथा बाल्गी पत्रिकामा २०२७ सालमा प्रकाशित भएका हुन् । २०३४ सालमा लघुतम कथाहरूको सङ्ग्रह ठूलो प्रकाशित भएको हो ।” सो अवसरमा उनका तीनवटा लघुकथामा आधारित नाटक प्रदर्शन गरिदिएकोमा सर्वनाम परिवारलाई धन्यवाद पनि दिइन् ।

पहिलो लघुकथा ‘झिल्का’ २००७ साल भदौ ५ गते प्रकाशन गरेर पूर्णप्रसाद ब्राह्मणले सुरु गरेको लघुकथा इतिहासको स्मरणमा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र पूर्णप्रसाद ब्राह्मणका परिवारले सो पुरस्कार स्थापना गरेको समाजका सचिव तुलसीहरि कोइरालाले बताए । लघुकथा समाजले प्रदान गर्ने पाँच पुरस्कारमध्ये सबैभन्दा ठूलो राशिको सो पुरस्कार यसपटक तुलाधरलाई प्रदान गरिएको हो । योसहित समाजका धनमान लघुकथा पुरस्कार, धनमान कथा पुरस्कार, बाटुली–खिलध्वज लघुकथा पुरस्कार, सावित्री–केशर कथा पुरस्कार रहेका छन् ।

यसैगरी सो कार्यक्रममा हेमलता उप्रेतीको ‘एउटा प्रश्न’ लघुकथा सङ्ग्रह पनि विमोचन गरिएको थियो । लघुकथा समाज प्रदेश १ की अध्यक्ष ममता मृदुलले सो सङ्ग्रहको सम्पादन गरेकी हुन् । कार्यक्रममा मृदुलले हेमलताको सिर्जर्नात्मक प्रतिभाबारे चर्चा गरेकी थिइन् । हेमलताले तयार पारेका कथाहरू उनकै ल्यापटपबाट लिएर कतिपय अधुरा लघुकथाहरूलाई आफैँले पूर्णता दिएको पनि उनले चर्चा गरिन् । सम्पादनको क्रममा हेमलताका श्रीमान् राजेन्द्र कुँवरले धेरै नै सहयोग गरेको बताइन् । उनले भनिन्, “यो पितृसत्तात्मक परिवेशमा श्रीमतीको मृत्युपछि पनि यसरी उनको कीर्ति राख्न कृतिको प्रकाशन गर्नु निकै गौरवपूर्ण कुरा हो ।”

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, मन्दिरा मधुश्री, राधा चालिसे, हरि अधिकारी लगायत थुप्रै साहित्यअनुरागीहरुको उपस्थिति थियो ।