फोहोरको अवरोध हटाउन बञ्चरेडाँडाबासीसँग ४ बुँदे सहमति

१ भदौ, काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध अन्त्य गर्न बुधबार साँझ सहमति भएको छ ।

काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको हो ।

फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति पछि फोहोरको अवरोध अन्त्य भएको छ।