साताको चौथो दिन आज सेयर बजारमा सामान्य गिरावट

१ भदौ, काठमाडौं । साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य गिरावट भएको छ । आइतबारसम्म लगातार पाँच दिन घटेको नेप्से सोमबार ५५.८८ अंकले वृद्धि हुँदा मंगलबार २४.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य गिरावट हुँदा २०४०.७० अंकमा बन्द भएको छ ।

दिनभर उतारचढाव देखिएको बजारमा सुरुवाती समयमा नेप्सेमा वृद्धि भए पनि अन्तिममा घटेर बन्द भएको हो । नेप्सेसँगै बैंकिङ जीवन बीमा, होटल तथा पर्यटन, व्यापार लगानी र अन्य उपसूचकमा सामान्य गिरावट हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि तल झरेको छ । सोमबार २ अर्ब ४३ करोडको कारोबार भएको बजारमा मंगलबार २ अर्ब ७३ करोडको कारोबार भएको
थियो । तर, बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको छ । बुधबार बजारमा ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ६० लाख कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १८ करोड ४३ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ६ करोड ९१ लाखको कारोबार भएको छ ।

बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६९ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको स्थिर छ । कारोबार भएकोमध्ये श्वेतगंगा हाइड्रोपावर, मंदाकीनी हाइड्रोपावर, अपर हेवाखोला जलविद्युत् कम्पनी, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनी र सपोर्ट लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ ।