१ भदौ, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले आज एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका हुन ।
निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ ।
प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी हुनु भएको तर्क लामिछानेको छ । तर, उनले आफूहरु व्यवस्था विरोधी नभएको जिकिर गरेका छन् । ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहानमा सहभागी हुनु बाहेक केही होइन,’ उनको तर्क छ, ‘हामी व्यवस्थाविरुद्ध छैनौं । मात्र प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।’
प्रदेशसभा, प्रदेश प्रमुख र प्रदेश अन्तर्गतका सबै मन्त्रालय खारेजीको माग गरेका लामिछानेको पार्टीले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क गरेको छ । प्रदेश मुख्यमन्त्री र फरक लिंगको एक उपमुख्यमन्त्री हुने र प्रत्यक्ष निर्वाचिन मुख्यमन्त्रीहरुले नै जिल्ला प्रमुख नियुक्त गर्नु पर्ने उनको भनाइ छ ।