एमालेको आकलन : ३२ सिटमा जित, काठमाडौंमा एकमात्रै

काठमाडौं । अघिल्लो प्रतिनिधि सभा चुनावमा वाम गठबन्धन गरेर ८० सिट जितेर सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आसन्न चुनावमा ३२ ठाउँमात्रै जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । जसमध्येका १० वटा निर्वाच क्षेत्रमा सहज जीत हुने उसको आँकलन छ । ३२ बाहेक थप ४ वटा निर्वाचन क्षेत्रलाई एमालेले संभावित जित भएका क्षेत्र मानेको छ ।

एमालेले स्थानीय तह निर्वाचनमा प्राप्त परिणाम, पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षले प्राप्त गरेको मतलाई आधार मानेर यो हिसाब निकालेको हो । उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको निर्वाचन विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार काठमाडौं जिल्लामा क्षेत्र नम्बर–५ बाहेक अरु कुनै पनि क्षेत्रमा एमाले विजयी हुने छैन ।

मा काठमाडौं ५ मा विजयी ईश्वर पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष छन् । ‘तल तलको तथ्याङ्क लिन अझै बाँकी छ, अहिलेसम्मको हाम्रो अध्ययनअनुसार एक्लै प्रतिष्पर्धा गर्दा ३० को हाराहारीमा चुनाव जितिन्छ भन्ने छ,’ एमालेका एक पदाधिकारीले भने ।

सहज जीत हुने १० क्षेत्र

विष्णु पौडेलले जित्ने, शंकर पोखरेललाई हम्मे

आन्तरिक रिपोर्टअनुसार एमालेले गण्डकी प्रदेशमा आफूलाई सबैभन्दा बलियो मानेको छ । उसले सबभन्दा कमजोर उपस्थिति सुदूरपश्चिम र कर्णाली प्रदेशमा देखेको छ ।

सुदुरपश्चिममा दार्चुला र बाजुरामा उसको पक्षमा परिणाम आउने एमालेको विश्लेषण छ भने कैलाली ५ मा जितको संभावना देखेको छ । अघिल्लो निर्वाचनमा कैलाली ५ मा एमालेका नारदमुनि रानाले कांग्रेसका आरजु राणा देउवालाई पराजित गरेका थिए । यस्तै कर्णालीमा दैलेख–२ र सुर्खेत–२ मा मात्रै एमाले विजयी हुने उसको आन्तरिक आकलन छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा टोपबहादुर रायमाझी विजयी हुनेमा एमाले ढुक्क छ । यस्तै कपिलवस्तु–२ मा नवप्रवेशी बृजेशकुमार गुप्तलाई टिकट दिए उनले जित्ने हिसाब निकालेको एमालेले पाल्पा–१, गुल्मी–२ र रुपन्देही–२ मा जित निकाल्न सकिने हिसाब निकोलेको छ । पाल्पा १ मा यसअघि एमालेकै दलबहादुर राना, गुल्मी–२ मा गोकर्ण विष्ट र रुपन्देही–२ मा विष्णु पौडेलले चुनाव जितेका थिए ।

महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र रहेको दाङ–२, रुपन्देही १ र पाल्पा २ लाई भने जित्ने संभावना रहेको तर जित निश्चित भइनसकेको भनिएको छ । वागमतीमा एमालेले काठमाडौं–५, महेश बस्नेतको निर्वाचन क्षेत्र रहेको भक्तपुर–२, शेरबहादुर तामाङको क्षेत्र सिन्धुपाल्चोक–२, चितवन २ र मकवानपुर १ लाई जित्न सकिने क्षेत्रको सूचीमा राखेको छ ।

यही गठबन्धनबिरुद्ध लड्न परे मधेशलाई प्राथमिकता दिएको एमालेको पक्षमा यसपालिको निर्वाचनको परिणाम पनि आउन नसक्ने आकलन एमालेको छ । एमालेको हिसाब अनुसार प्रभु साह उम्मेदवार बनेमा रौतटह–३, रघुवीर महासेठको निर्वाचन क्षेत्र धनुषा–४, र लिला श्रेष्ठको निर्वाचन क्षेत्र सिरहा–३ लाई आउँदो निर्वाचनका लागि सुरक्षित क्षेत्रको सूचिमा सूचिकृत गरेको छ ।

एमालेले प्रदेश १ का ८ वटा निर्वाचन क्षेत्रमा जित्न सकिने प्रारम्भिक तथ्यांक तयार पारेको छ । उसको तथ्यांक अनुसार सुनसरी–१, मोरङ–२, मोरङ–३, झापा–१, झापा–२, झापा –५, इलाम–२ र ताप्लेजुङमा जित निकाल्न सकिने एमालेको हिसाब छ ।

३२ ठाउँमा जितको हिसाब निकालेको एमालेले पाँचदलीय गठबन्धनबिरुद्ध एक्लै लड्दा १० सिटमा मात्रै सहज जित हुने हिसाब तयार पारेको छ । अनलाइनखबरलाई प्राप्त एमालेको आन्तरिक आकलनअनुसार काठमाडौं–५ मा एमालेको १९ हजार ७ सय ३ र पाँच दलीय गठबन्धनको १७ हजार ९ सय ६ मत छ । त्यसैले गठबन्धनबिरुद्ध एमालेले १,७९७ मतले जित्न सक्ने उसको आन्तरिक रिपोर्टमा छ ।

अघिल्लो निर्वाचनमा एमालेले काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा जित हासिल गरेको थियो । ६ मध्ये २ जना सांसद माधवकुमार नेपाल र जीवनराम श्रेष्ठले एमाले विभाजन गरेर नयाँ दल एकीकृत नेकपा समाजवादी गठन गरेका
छन् ।

गठबन्धनसँग जम्मा ११ मतअन्तर रहेको चितवन २ लाई पनि एमालेले सजिलै जित निकाल्न सकिने निर्वाचन क्षेत्रका रुपमा राखेको छ । चितवन २ मा अघिल्लो निर्वाचनमा कृष्णभक्त पोखरेल विजयी भएका थिए । स्थानीय तहको मत परिणामअनुसार चितवन २ मा एमालेको ३५ हजार ५ सय ४३ र गठबन्धनको ३५ हजार ५ सय ३२ मत छ ।

यस्तै एमालेले सहज जित देखेका क्षेत्र हुन् झापा–१, झापा–२ र झापा–५ । झापा १ मा यसअघि बाम गठबन्धनका तर्फबाट राम कार्की विजयी भएका थिए । स्थानीय तह निर्वाचनको परिणामअनुसार झापा १ मा एमालेको ३१ हजार २ सय ३२ मत छ भने पाँचदलीय गठबन्धनको मत २९ हजार २ सय १६ आएको छ । यो हिसाबले एमाले गठबन्धनभन्दा २ हजार १६ मतले अगाडि छ ।

यस्तै झापा–२ मा एमाले गठबन्धनभन्दा ६०८ मतले मात्रै अगाडि छ । यो निर्वाचन क्षेत्रमा ०७४ मा एमालेकै पवित्रा खरेल निरौला बिजयी भएकी थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा चाहिँ एमालेले सहज जित देखेको छ । यो क्षेत्रमा एमाले गठबन्धनभन्दा ६ हजार ८ सय २१ मतले अगाडि छ ।

महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र रहेको दाङ–२, रुपन्देही १ र पाल्पा २ लाई भने जित्ने संभावना रहेको तर जित निश्चित भइनसकेको भनिएको छ ।

स्थानीय तहको मत परिणमाअनुसार एमाले नवलपुर–२ र पर्वतमा सुरक्षित छ । नवलपुरमा एमाले गठबन्धनभन्दा ९ सय २० र पर्वतमा ४ सय ६५ मतले अगाडि छ । यी क्षेत्रमा गत ०७४ को निर्वाचनमा पनि एमालेले नै जितेका थिए । पाल्पा–१, मनाङ र मुस्ताङमा पनि एमालेको मत बढी छ ।

अनाइनखबरबाट