वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै

सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए ।

देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताएका छन् । उनले कुनैपनि देशको भाषा, संस्कृति, कला, संगीत क्षेत्र देशका लागि गहना भएको भन्दै यसलाई संरक्षण र संवर्द्धन गर्न सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाली साहित्य, संस्कृति र कलालाई राष्ट्रिय स्तरमा परिचित गराउन अन्तर्राष्ट्रिय समान प्रकृतिका प्रतिष्ठानसँग सहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुनैपनि देशको विकासलाई भौतिक विकाससँग मात्रै दाँज्न नमिल्ने बताए । उनले देशको साहित्यिक र सांस्कृतिक क्षेत्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यक्ता रहेको बताए ।

प्रधानमन्त्री देउवाले उपत्यकाभित्र बसोवास गर्ने प्रत्येक जाति र संस्कृतिसँग जोडिएका अनगिन्ती सामग्रीहरु विशिष्ट सम्पदा भएकोले यिनको खोजि गरी प्रकाशन गर्नु आजको प्रमुख आवश्यक्ता भएको बताए । प्रतिष्ठानले नेपाल चिनाउने ग्रन्थ प्रकाशनका क्रममा ‘नेपाल दर्पण’ परियोजनाअन्तर्गत मधेस प्रदेशको दर्पण चाँडै प्रकाशन हुन लागेको र महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालयको चाँडै उद्घाटन गर्न लागिएको भन्दै उनले खुशी व्यक्त गरे । सो अवसरमा प्रधानमन्त्री देउवाले प्रज्ञा प्रतिष्ठानको ‘इबुक एप’ को पनि शुभारम्भ गरेका थिए ।