माओवादी अध्यक्ष प्रचण्ड पाँच दिने भ्रमणका लागि जापानमा

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान पुगेका छन् ।

आज बिहान नारिता विमानस्थलमा अवतरण भएका उनले पत्रकारसँग कुराकानी गर्दै भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेको तर त्यो पूरा हुन नसकेको बताए ।

आबे र आफ्नो पूर्वप्रधानमन्त्रीका हैसियतले पटकपटक भेटवार्ता र अन्तरक्रिया भएको सम्झिंदै प्रचण्डले यसपटकको भ्रमणमा जापानमै भेट्ने इच्छा भए पनि त्यो पूरा नभएको बताएका हुन् ।

आफ्नो भ्रमणको टुंगो लागेपछि आबेसँग भेट्नलाई राजदूत र दूतावासमार्फत मिलाउने प्रयास गरिरहेको भन्दै उनले भने, ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो । त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानका लागि त यो विरलै हुने घटना
हो ।’

पूर्वप्रधानमन्त्री आबेको केही समयअघि गोली हानी हत्या भएको थियो । अध्यक्ष प्रचण्डले आबेका परिवारलाई समवेदना व्यक्त गर्दै मौका मिले भेट्ने बताए ।

प्रचण्डले आफू भ्रमणको क्रममा नेपाल(जापानको सम्बन्धका साथै जापानमा रहेका नेपालीको अवस्थाको अध्ययन गर्ने बताए ।