बालुवाटारबाट सांसदलाई धम्की, कि हस्ताक्षर गर्नुहोस् हैन भने राम्रो हुने छैन

बैशाख १९, काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद ओलीको पक्षमा नलाग्ने सांसदहरुलाई धम्की आएको खुलासा भएको छ । अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओली पक्षले चलाइरहेको हस्ताक्षर अभियानमा सामेल नहुने सांसदहरुलाई ओलीका निकटस्थहरुले बालुवाटारबाटै धम्क्याएको खुलासा भएको हो । शुक्रबार मात्रै राष्ट्रियसभा सदस्य शारदा भट्टलाई प्रधानमन्त्री ओलीको आफूलाई भित्रिया बताउने गौरी ओलीले यस्तो धम्की दिएकी हुन् ।
गौरीले ‘प्रधानमन्त्रीलाई भोलि निकाल्दै छन् यस्तो बेला बहानावाजी नगर्नुस् बालुवाटार तुरुन्त आएर हस्ताक्षर गर्नुस’ भनेपछि भट्टले आफू यस्तो खेलमा नलाग्ने जवाफ दिएकी थिइन् । तर भट्टले यसो भन्नेबित्तिकै ओलीले ‘तपाईं प्रधानमन्त्रीसँग टक्कर लिने ? धेरै बहानाबाजी नर्गनुस्, तुरुन्त बालुवाटार आएर हस्ताक्षर गर्नुस्’ नेपालमा जे पनि हुनसक्छ,तपाईं नराम्रोसँग फस्न सक्नुहुन्छ ।
भट्ट नेकपाकी सांसद मात्र नभएर कैलालीकी पुरानो कार्यकर्ता समेत हुन् । उनी शुक्रबार एक कार्यक्रममा भइरहेका बेला यस्तो धम्कीयुक्त फोन आएको थियो ।
लोकतन्त्र र प्रजातन्त्रको दुहाई दिने प्रधानमन्त्री र उनका नजिकका बाटै यस्तो हर्कत भएको थाहा पाएपछि सहभागीहरु आश्चर्यचकित बनेका थिए । यता गौरीले भने सरकार अप्ठ्यारोमा परेको बेला प्रधानमन्त्रीलाई सहयोग गर्न भट्टलाई आफूले अनुरोध मात्र गरेको दावी गरिन् । उनले अनुरोधलाई धम्की भन्दै भट्टले नै अनावश्यक अफबाह फैलाएको समेत आरोप लगाइन् ।
तपाईँ सांसद हो, उहाँ प्रधानमन्त्री हो । प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको बेला सहयोग गर्नु तपाईँको दायित्व हो । मैले यति भनेकै हो । नेकपाकी केन्द्रीय सदस्य रहेकी गौरी सुदूरपश्चिम प्रदेशकै डोटी जिल्लाकी हुन् ।
पछिल्लो समय प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छाड्न चर्को दवाव परेको छ । पार्टीभित्र कुनै छलफल नगरी दुई विवादास्पद अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । ओलीले विवाद थामथुम पार्न विवादास्पद अध्यादेश फिर्ता लिएपनि राजीनामा विषय भने साम्य भएको छ ।
यस्तो अवस्थामा ओलीले संसदीय दलमा आफ्नो बहुमत सिद्ध गर्नका लागि सांसदहरुको हस्ताक्षर अभियान जारी राखेका
छन् । प्रतिनिधिसभाको संसदीय दलमा आफ्नो बहुमत देखाउन ओली कम्मर कसेर लागेको अवस्थामा राष्ट्रिय सभाका सांसद समेतलाई किन हस्ताक्षर गर्न दवावसहित धम्की दिइयो त्यो रहस्यको विषय बनेको छ ।
दुई दिनअघिमात्रै उपाध्यक्ष बामदेव गौतम पत्नी तुलसा थापाले पनि प्रधानमन्त्रीको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेकी थिइन् ।
समाचार रातोपाटीबाट