कोरोना संक्रमित भेटिएपछि नेपालगंजका तीन स्थानलाई सिल

बैशाख १९, बाँके । कोरोना भाइरसका कारणले लकडाउनकै क्रममा आज नेपालगञ्जमा कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जका तीन स्थानलाई सिल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ को डिएसपीरोड ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको घर, उनले काम गर्ने नेपालगन्ज वडा न. ८ को महेन्द्रपार्क पछाडिको मस्जिद र नेपालगन्जको धम्बोझी चोकमा रहेको मस्जिदलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । संक्रमित पुरुष डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कथित मस्जिदमा दैनिक अजान दिन आउजाउ गर्दै आएको कारण उनी थुप्रै व्यक्तिहरुको सम्पर्कमा पुगेको हुनसक्ने भन्दै सिल गरिएको हो । नेपालगञ्ज धम्वोजीको मस्जिदमा बस्दै आएका एक युवामा पनि संक्रमणको आशंका गरिएपछि यो क्षेत्र सिल गरिएको हो । ती युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए ।