अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । आज बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् ।
गएकोे सोमबार नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेका छन् ।
नदी कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् । नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तीब्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको हो ।
बेलका नगरपालिका– ८ लाहेर खोच डुम्रिबोटेस्थित नदिले कटान गरि गाउँ पसेको हो । नदी तटीय क्षेत्रका स्थानीयवासी वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको स्थानीयको गुनासो छ ।