प्रचण्ड हरहालतमा चुनावपछि प्रधानमन्त्री हुन चाहन्छन्

१४ साउन, काठमाडौं । १० वर्ष लामो सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादी पहिलो संविधानसभा चुनावमा सबभन्दा ठूलो दल बन्यो ।

भदौ २०६५ मा प्रधानमन्त्री बनेका प्रचण्ड, प्रधानसेनापति हटाउन खोज्दा आफैं हट्नुप¥यो । २०७३ साउनमा दोस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले पूर्व सहमति अनुसार १० महिनामा शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे ।

आलोपालो प्रधानमन्त्री बन्ने सहमतिका साथै २०७४ को संसदीय चुनावमा एमालेसँग वाम गठबन्धनका साथै पार्टी एकता गर्दा पनि प्रचण्डले सत्ताको बागडोर सम्हाल्न पाएनन् ।

अहिले मुलुक स्थानीय चुनाव सकेर प्रदेश र प्रतिनिधि सभाको निर्वाचन (प्रस्तावित ४ मंसिर २०७९) को संघारमा छ । र, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हरहालतमा चुनावपछि प्रधानमन्त्री हुने चाहन्छन् । उनकै शब्दमा ‘लास्ट इनिङ’ खेल्न चाहन्छन् ।

शनिबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘विकास, सुशासन, समृद्धि यसरी हुन्छ भनेर देखाउनुछ । मलाई भन्नुहुन्छ भने यो मेरो लास्ट इनिङ होस् । यो लास्ट इनिङ पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’

अंकगणितले दिएको साथ

२३ फागुन २०७७ मा तत्कालीन नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज भएपछि पुनस्र्थापित माओवादी केन्द्र सहजै पूर्ववत अवस्थामा फर्किन सकेन । माओवादी नेताहरुकै शब्दमा भन्दा पार्टीको मूल नेतृत्व प्रचण्ड स्वयं कठिन अवस्थामा थिए । उनले जुन बाटो रोजेका थिए, त्यसमा थोरै तलमाथि भएको भए प्रचण्डकै राजनीतिक भविष्य नै संकटमा पर्न बेर लाग्थेन ।

तर प्रचण्डले एउटा खड्को टारे । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनसँगै राष्ट्रिय राजनीतिको केन्द्रमा आएका उनी स्थानीय चुनावपछि त आफू र माओवादीलाई निर्णायक शक्तिका रुपमा उभ्याउन सफल समेत भएका छन् ।

स्थानीय चुनावमा पार्टीले पाएको मत १७ बाट १३ प्रतिशतमा झर्दा पनि मतको अंकगणित आसन्न प्रतिनिधिसभा चुनावमा माओवादीले जोसँग गठबन्धन÷तालमेल गर्छ, उसले जित्ने अवस्था देखिएको छ ।

शनिबारको कार्यक्रममा प्रचण्डले स्थानीय चुनावमै दोस्रो ठूलो पार्टी हुने सम्भावना रहेको र ५० सिट आफैंभित्रको अतर्घातले गुमेको दावी गरे । ‘५० सिट नगुमेको भए हामी १७५ मा पुग्थ्यौं र एमाले १६० र १७० को तल आइपुग्थ्यो, हामी अहिले नै दोस्रो हुने प्रबल सम्भावना थियो’ उनले भने ।

प्रचण्डले दोस्रो हुन नसके पनि संघीय चुनावका लागि आफ्नो बार्गेनिङ शक्ति भने स्थानीय चुनावले बढाएको आशय व्यक्त गरे । ‘‘त्यो अनुभव लिएर जाँदैछौं । र हामी (दोस्रो) बन्छौं, हामी हुनैपर्छ । हामी त्यसरी जाँदा देशको बागडोर हाम्रो हातमा आउँछ ।

कांग्रेस र एमाले दुबै दल, माओवादीसँग गठबन्धन गरेर चुनावमा जान लालयित भएपछि प्रचण्डलाई आफ्नो प्रधानमन्त्री हुने सुनिश्चितता खोज्ने अवसर मिलेको छ ।