Breaking News

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै

१२ साउन, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज साँझ काठमाडौं ओर्लिने छन् ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने स्रोतले जनाएको छ । यद्यपि उनका अन्य कार्यक्रमहरुबारे औपचारिक रुपमा केही पनि सार्वजनिक गरिएको छैन ।

नेपालले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेपछि र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रोकिएपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो नेपाल आगमन हो । डोनाल्ड लुले यसअघि नेपालबाट एमसीसी पारित गराउन भूमिका खेलेका थिए । त्यसैले अहिले हुन लागेको उनको भ्रमणलाई चासोका साथ हेरिएको छ ।