Breaking News

मेहन्दी लगाउन बोलाएकी एक युवतीलाई जबरजस्ती अपहरण गरी विवाहको कोसिस

साउन लागेसँगै नेपाली समाजमा पनि मेहेन्दी लगाउने प्रचलनले बढ्दो छ।

यसैबीच साउन २ गते घोराही उपमहानगरपालिका-१० की २२ वर्षीया रोशनी लामिछानेले स्थानीय एक साथीलाई मेहेन्दी लगाउन भनेर घरमा बोलाइन्।

साथीले बोलाएपछि ती युवती रोशनीको घर पुगिन्। उनीहरूले आपसमा मेहेन्दी लगाए। रमाइलो गरे। कुरा यतिमै सिमित रहेन।

रोशनीकी आमा ४० वर्षीया सीता केसी लामिछानेले बा ६ च ४७७६ नम्बरको एउटा स्कार्पियो बोलाएकी थिइन्। तुलसीपुर उपमहानगरपालिका(७ का २८ वर्षीय शिशिर बादी गाडी लिएर आएका थिए।

एकाएक बलजफ्ती ती किशोरीलाई गाडी भित्र राखियो। बीचमा ती किशोरीलाई राखेर वरिपरी आमा छोरी बसे। उनले गाडीको ढोका खोल्न खोज्दा पनि उनका हात समातियो। ढोका खोल्न दिइएन।

दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार ती युवतीलाई आमा छोरी मिलेर तुलसीपुर– ७ गणेशपार्क नजिकै बस्ने ३५ वर्षीय प्रकाश वलीको घरमा पुर्‍याउन चाहन्थे। उनीहरूले ती युवती र प्रकाशबीच बिहे गराउन चाहन्थे। नाताले प्रकाश सिताका भजिता हुन्।

बलजफती केटाको घर पुर्‍याउन खोजेपछि बीच बाटोबाटै जसोतसो ती युवतीले आफ्नो बुवालाई म्यासेज पठाइन्। उनका बुवाले प्रहरीसँग सहयोग मागे। इलाका प्रहरी कार्यालय तुलसीपुरलाई खबर भयो। इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती युवतीलाई तत्काल उद्धार गर्‍यो।

स्रोतका अनुसार प्रकाश वली र ती युवतीबीच सामान्य चिनजान थियो। त्यही भएर करबल गरि लामिछानेका आमाछोरी युवतीलाई केटाकै घर पुर्‍याएर जबरजस्ती विवाह गराइदिन चाहन्थे।

युवतीले त्यसको प्रतिवाद गरिन्। जवरजस्ती युवतीलाई उठाएर केटाको घरमा पुर्‍याउन खोजेको आरोपमा प्रहरीले चालकसहित तीनै जनालाई साउन २ गते नै नियन्त्रणमा लियो।

पीडित युवतीको तर्फबाट बुवा प्रहरी कार्यालयमा पुगे। छोरीको सल्लाहमा उनले तीन जनाविरूद्ध अपहरण, जवरजस्ती ओसारपसार तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रकाशलाई भने केटी पक्षले मुद्दा दायर गरेको छैन।

पक्राउ परेकामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत दाङले पाँच दिन थुनामा राख्न आदेश दिएको छ। यो बीचमा पक्राउ परेकालाई अदालत उपस्थित गराइ बयान लिने क्रम जारी छ।

सेतोपाटीबाट

लेखक : नारायण खड्का