Breaking News

दक्षिण भारतलाई अलग देश बनाउने त्यो पुरानो माग

भारतीय गृहमन्त्री अमित शाहले ‘भारत सरकारको ७० प्रतिशत एजेन्डा हिन्दीमा बन्ने भएकाले हिन्दीलाई औपचारिक कामकाजी भाषाका रुपमा स्वीकार्दै देशको एकताको अनिवार्य अंग बनाउनुपर्ने बेला आएको’ बताएपछि तमिलनाडूको सत्तारुढ दल डीएमकेका नेता ए. राजाले आक्रोशित प्रतिक्रिया दिएका छन् ।  ‘अमित शाहले एकता चाहने हो भने (भारतका) सबैले हिन्दी सिक्नुपर्ने बताए । हाम्रो पार्टीका संस्थापक पेरियालले मृत्युको शैय्यासम्म थानी नाडु(अलग देश)को माग गरे । तर डीएमकेले लोकतन्त्र र राष्ट्रिय अखण्डताको खातिर त्यस मागलाई परित्याग गरिदियो । यसैले म विनम्रताका साथ भन्छु, हाम्रो मुख्यमन्त्री अहिले अन्नादुरईको मार्गमा हिँडिरहेका छन्, कृपया उनलाई पेरियारको मार्गमा हिँड्न बाध्य नबनाउनस् । अलग द्रविडनाडु र तमिलनाडु देशको मागलाई पुनः उठाउने काम नगर्नुस् । एकताको लागि राज्यलाई थप स्वायत्तता दिनुस्,’ उनको भनाइ छ ।
ए. राजाको भनाइमा उल्लेख भएका पेरियार, अन्नादुरई र द्रविडनाडुबारे धेरैलाई थाहा छैन । यहाँ यसबारे प्रष्ट्याउने कोसिस गरिएको छ । यसको सुरुवात पेरियारबाट गर्नु उपयुक्त हुन्छ ।

को हुन् पेरियार ?
इरोड वेंकट रामास्वामी अर्थात् ईवी रामास्वामी (पेरियार)को जन्म १७ सेप्टेम्बर १८७९ मा तमिलनाडुको इरोडमा भएको थियो । उनी सानैदेखि ब्राह्मणवाद र हिन्दू धर्मका कुरीतीहरुविरुद्ध उभिन थालेका थिए ।
धर्मप्रति विश्वास नभएकाले उनले पछि आफ्नो नाममा रहेको रामास्वामी हटाइदिए । तमिल राजनीति र अभियानकर्मीमाझ निकै प्रतिष्ठित भएकाले उनलाई पछि पेरियार भनेर बोलाउन थालियो । तलिम भाषामा पेरियारको अर्थ सम्मानित नेता भन्ने हुन्छ ।

पेरियारले सन् १९१९ मा गान्धीवादीका रुपमा कंग्रेसबाट आफ्नो राजनीतिक करियर सुरु गरेका थिए । उनी गान्धीको मदिरा विरोधी, खादी र छुवाछुत उन्मूलन जस्ता नीतिहरूप्रति आकर्षित भएका थिए ।
केरलामा सन् १९२४ को वैकोम सत्याग्रहमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले केरलाको वैकोम सत्याग्रह अभियान चलाएर त्यहाँको एउटा प्रतिष्ठित मन्दिरमा दलितहरूको प्रवेशको आन्दोलनको नेतृत्व गरे । केरलामा त्यस समय दलितहरु मन्दिर प्रवेश गर्न मात्र नपाउने होइन की कुनै पनि मन्दिर छेउको बाटोमा पनि हिड्न पाउँदैनथे ।

यस आन्दोलनपछि तमिलनाडुमा पेरियार नायक बने । वैकोम सत्याग्रह ब्राह्मणवादको विरुद्ध थियो र पेरियार ब्राह्मणहरूको सबैभन्दा मुखर विरोधी भएर निस्किए । सन् १९२५ मा उनले कांग्रेसले ब्राह्मणहरूको हितमा मात्र काम गरेको आरोप लगाउँदै राजीनामा दिए ।

पेरियारले त्यसपछि आत्म–सम्मान आन्दोलन सुरु गरे जसको लक्ष्य गैर–ब्राह्मणहरू, अर्थात् द्रविडहरूमा आत्मसम्मान जगाउनु थियो । पछि उनी दक्षिण भारतीय लिबरल फेडरेशन अर्थात् जस्टिस पार्टीको अध्यक्ष बने, जुन सन् १९१६ मा सुरु भएको गैर–ब्राह्मण संगठन थियो ।

पेरियार बञ्चित वर्गका लागि आरक्षणका पक्षपाती थिए । सन् १९३७ मा तमिल भाषीहरूमाथि हिन्दी लागू गर्न लागेको भन्दै विरोध गरेका थिए । सन् १९४४ मा पेरियारले आत्म–सम्मान आन्दोलन र जस्टिस पार्टी पार्टीलाई मिलाएर द्रविड कडगम गठन गरे । द्रविड कडगमले पहिले त दलितहरूका बीचमा छुवाछुतको विरुद्ध कडा संघर्ष गर्यो ।

पेरियारले बालविवाहको उन्मूलन, विधवा महिलाको पुनर्विवाह, जीवनसाथी छनोट गर्ने वा छोड्ने अधिकार, विवाहलाई पवित्रतासँग जोड्ने भन्दा पनि दुई व्यक्तिको साझेदारिताको रुपमा मान्नुपर्ने विचारहरुमा अभियान चलाए । उनले विवाहको प्रतीकका रूपमा पोते वा मङ्गलसूत्रजस्तो सुचक लगाउने कुराको समेत विरोध गरे ।
ब्राह्मणवादको विरोधको आगोले द्रविडनाडुलाई जन्म दियो

भारत स्वतन्त्र हुनुअघि एकतर्फ मुस्लिम बहुल क्षेत्रलाई पाकिस्तान बनाउनुपर्ने माग उठिरहेको थियो भने अर्कोतर्फ तमिलनाडु र त्यस वरपरा ड्रविड भाषी क्षेत्रलाई जोडेर छुट्टै द्रविडनाडु वा द्रविडीयनहरुको अलग राष्ट्रको माग उठ्न थालेको थियो ।

यो मागको खास उद्देश्य तमिल समाज र प्रशासनबाट ब्राह्मणहरूको प्रभुत्व समाप्त गर्नु थियो । साथै द्रविड मूलका मानिसहरूलाई सामाजिक समानता र अधिक शक्तिशाली बनाउन पनि द्रविडनाडू चाहिने पेरियारको माग थियो ।
तर, समयसँगै यो पृथकतावादी आन्दोलनको पक्षमा आवाज उठाउने बढ्दै गए । सन् १९३८ डिसेम्बरमा जस्टिस पार्टीको अधिवेशनमा पेस गरिएको एक प्रस्तावले तमिल जनताको लागि थप अधिकारको माग गर्यो । पेरियारले उत्तर भारतमा बहुसंख्यक जनसंख्या आर्यहरूलाई आक्रमणकारीको संज्ञा दिए र ब्राह्मणहरूको आगमनले तमिल समाजमा विभाजन भएको आरोप पनि लगाए ।

सन् १९३९ मा पेरियारले एक अलग द्रविडियन जनताको देशको माग बलियो बनाउन द्रविड नाडु सम्मेलन नै आयोजना गरे । सोही वर्ष डिसेम्बर १७ को एक भाषणमा उनले द्रविडको लागि द्रविड–नाडु भन्ने नारा दिए । सन् १९४० मा दक्षिण भारतीय लिबरल फेडरेशन अर्थात जस्टिस पार्टीले आधिकारिक रुपमा द्रविडनाडु देशको प्रस्ताव पारित गर्यो ।

पहिले यो माग तमिल भाषी क्षेत्रका लागि मात्र थियो । तर पछि यसमा छिमेकी आन्ध्र प्रदेश, केरला, कर्नाटक, ओडिशामा पनि विस्तार गरियो र यी क्षेत्रलाई समेत समेटेर अलग द्रविडनाडु बनाउनुपर्ने रुपरेखा अगाडि आयो ।
सन् १९४० जुनमा काञ्चीपुरममा भएको पृथकतावादी सम्मेलनमा पेरियारले द्रविडनाडुको प्रस्तावित नक्सा नै जारी गरे।

सीएन अन्नादुराईको प्रवेश
ईवी रामास्वामीले अगस्ट १९४४ मा सलेम प्रान्तीय सम्मेलनमा जस्टिस पार्टीलाई द्रविड कडगम(डीके) नामाकरण गरे । सन् १९४४ मा पेरियरले अर्का दलित नेता अम्बेडकरलाई भेटेर द्रविडिस्तानबारे चर्चा गरेका थिए । उनीहरु दुवै ब्राह्मणवाद सम्पूर्ण भारतीय उपमहाद्वीपको लागि समस्या भएकोमा सहमती भएको थियो ।

यसबीच, तिरुचीमा द्रविड कझगमको राज्य सम्मेलनमा प्रमुख तमिल नेता सीएन अन्नादुराईले भविष्यमा भारतमा हिसात्मक दंगा आउन नदिने हो भने भारतलाई जातीय रूपमा विभाजित गर्न आवश्यक भएको बताए ।
यता नयाँ तलिम नेताको रुपमा अन्नादुराईका उदय भइरहँदा पेरियार भने परिवारवादमा फस्न थालेका थिए । उनले पार्टीका वरिष्ठ नेताहरूलाई बेवास्ता गर्दै आफ्नी पत्नीलाई पार्टीको उत्तराधिकारी बनाए

यसको विरोधमा सन् १९५४९ मा अन्नादुरई र अन्य नेताहरूले पार्टीबाट छुट्एिर द्रविड मुनेत्र कडगम (डीमएके) गठन गरे । सन् १९४० को दशकमा पेरियारले भारतलाई तीन भागमा विभाजन गर्ने कुरा गर्न थालेका थिए । उनले विद्यमान भौगोलिक क्षेत्रलाई द्रविड़, मुस्लिम भारत (पाकिस्तान) र आर्य भूमि (हिन्दुस्तान) मा विभाजन गर्ने सल्लाह दिन थालेका थिए ।

पेरियारले द्रविडनाडु आर्य भूमि भारतको मित्रवत मुलुक हुने प्रतिवद्धता पनि जनाएका थिए । भारत स्वतन्त्रतापछि पनि पेरियार द्रविडनाडू बनाउने उद्देश्यमा टसको मस भएनन् । भारतको केन्द्र सरकारले सन् १९५६ मा भारतले देशलाई भाषाको आधारमा संघीय राज्यमा विभाजन गयो ।

यस कदमले भारतका धेरै क्षेत्रमा चलिरहेको पृथकतावादी आन्दोलन कमजोर बन्न थाल्यो । तमिल नाडूबाहेक अन्यत्र द्रविडनाडूप्रतिको आकर्षण स्वात्तै घ्टयो । यसैलाई मध्यनजर गर्दै पेरियारको नेतृत्वमा प्रकाशित हुने पत्रिका ‘विदुथलाई’मा आउने नारा ‘द्रविडको लागि द्रविडनाडु’को द्रविडनाडूलाई तमिलनाडू बनाइदिए ।

सन् १९५६ को जुन–जुलाईमा कझगमका संस्थापक पेरियारले द्रविड नाडूको सट्टा तमिल नाडूमा मात्र केन्द्रीत हुने माग गरे । त्यसबेलासम्म पेरियासको द्रविड नाडूको मुद्दा अन्नादुराईको पार्टी डीएमकेले जोडजोडले उठाउन थालेको थियो ।

तर डीएमकैको माग पनि तमिलनाडु बाहेक अन्य छिमेकी राज्यमा समर्थन पाएन । राज्यमै पनि द्रविड नाडू राष्ट्रको मागप्रति आकर्षण घट्न थालेको थियो । यसको दृष्टान्त सन् १९५७ को विधानसभा चुनावमा देखियो । राज्यको सभामा भएको चुनावमा डीएमकेले कुल २०५ मध्ये १५ मात्र सिट जित्न सक्यो ।

सन् १९५८ मा डीएमकेमा ब्राहमण नेता वीपी रमनको प्रवेशपछि उनले द्रविडनाडुको मागको चर्को विरोध गर्न थाले । सन् १९६० को नोभेम्बरमा, अन्नादुराईको अनुपस्थितिमा भएको एक बैठकमा रमन लगायत डीएमके नेताहरूले पार्टी कार्यक्रमबाट द्रविडनाडुको माग हटाउने निर्णय गरे ।

डीएमके द्रविडनाडुको मागबाट पार्टी जति टाढा जान्थ्यो, विधानसभामा उसको सिट बढ्न थालेको देखियो । सन् १९६२ को विधानसभा चुनावमा उसले सिट सङ्ख्या तेब्बर बनाएर ५० सिट त्यिो ।
उता अन्नादुरई र उनका सहयोगी भने अझै पनि द्रविडनाडुको माग गरिरहेका थिए । उनले सन् १९६० सेप्टेम्बर १७ मा द्रविडनाडु पृथकता दिवस मनाएपछि केन्द्र सरकारले हस्तक्षेप गर्दै उनलाई पक्राउ गर्यो ।
जेलबाट छुटेपछि अन्नादुरई सन् १९६२ मा भारतको केन्द्रको राज्यसभा उठे र निर्वाचित पनि भए । १ मे १९६२ मा आफ्नो पहिलो भाषणमा अन्नादुरईले तमिलनाडु (पहिले मद्रास) लाई छुट्टै देशको दर्जा दिने समय आएको र पछि यसमा अन्य दक्षिणी राज्यहरूलाई विलय गराई द्रविडनाडु नामको वृहद मुलुक बनाउनुपर्ने बताए ।

अन्नादुरईको यो भाषणको संसदमा जनसंघका नेता अटल बिहारी वाजपेयीले चर्को आलोचना गरे । देश स्वतन्त्र भएको १५ वर्षपछि यस्तो माग गर्नु अनुचित भएको बाजपेयीले बताए ।
सन् १९६३ मा राज्यसभामा पृथतावाद विरोधी विधेयक आउदाँ उच्च सदनमा असहमतीको एक मात्र आवाज अन्नादुरईको थियो । उनको विरोधको बावजुद विधेयक पास पायो । डीएमकेले औपचारिक रुपमा द्रविडनाडूको माग पनि छाडिदियो ।

त्यसपछि डीएमके तलिम नाडूमा हिन्दी लागु गर्न नहुने मागमा केन्द्रीत हुन थाल्यो । सन् १९६७ को विधानसभा चुनावमा पार्टीले १३८ सिट जित्दै सदनमा बहुमत हासिल गर्यो । अन्नादुरई मुख्यमन्त्री भए र स्वतन्त्र द्रविडनाडुका सबभन्दा ठूला समर्थक भारतीय सस्थापनमा समाहित भए ।

त्यस यता आक्कल झुक्कल द्रविडनाडूको माग उठ्ने गर्छ । सन् १९८० को दशकमा तमिलनाडु लिबरेसन आर्मी नामक सानो आतंकवादी संगठनले श्रीलंकामा भारतीय शान्ति सेना पठाउने कुराको विरोध गर्दै  द्रविडनाडुको माग उठाएको थियो, जुन त्यसै सेलाएर गयो ।

सन् २०१७ मा भारतीय वातावरण मन्त्रालयले वधशालामा गाईवस्तु बेच्न प्रतिबन्ध लगाउँदा केरलाका धेरै ट्विटर प्रयोगकर्ताहरूले द्रविडनाडू ह्यासट्या ट्रेन्ड गरेर विरोधका थिए । त्यस ट्रेण्डले तमिलनाड्रमा समर्थन हासिल गरेको थियो भलै राजनीतिक दलले यसप्रति समर्थन गर्न अस्वीकार गरे।

दैनिक भास्करबाट

एजेन्सी