जेष्ठ अन्तिम साताभित्र एसइई परीक्षा गर्न परीक्षा बोर्डको माग

बैशाख १८, काठमाडौं । गएको चैत्र ६ हुनुपर्ने एसइई परीक्षा कोरोनाका कारण स्थागित भएपछि आज बसेको राष्ट्रिय परीक्षा बोर्डकाको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । कार्यदलले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ । स्रोतले भन्यो, ‘असार १५ सम्म सक्ने गरी परीक्षा गर्न
सकिन्छ ।
साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट) मा गर्न पनि सिफारिस गरेको छ । एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी
हुनेछन् । चैत ६ मा परीक्षा लिने गरी १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) का कारण चैत ५ गते बेलुकी मात्र एसईई परीक्षा स्थगित गर्ने निर्णय गरिएको थियो ।
अब परीक्षा गर्दा परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने कार्यदलको सिफारिस छ । यसो गर्दा पनि हिमाली र पहाडी जिल्लाका कतिपय विद्यालयलाई परीक्षा केन्द्रको मान्यता दिइनेछ । ‘केन्द्राध्यक्ष र निरीक्षक त्यही विद्यालयको नहुने हुँदा समस्या हुँदैन । साथै परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने कार्यदलको निश्कर्ष छ । कार्यदलका अनुसार कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुन्छ । साथै कार्यदलले कक्षा १ देखि ९ सम्मको बार्षिक परीक्षाको नतिजा भने चैत २५ गतेभित्र प्रकाशित भनेको पनि छ ।