डा. बाबुराम भट्टराई र उपेन्द्र यादव अलग हुने अन्तिम तयारीमा

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव अलग हुने स्थितिमा पुगेका छन् ।

नेताहरुका अनुसार दुई नेताबीच हिजो बुधबार भएको भेटले आपसी मतभेद कम गर्नुको सट्टा अविश्वास बढाएको छ । र, असार २७–२८ मा वीरगञ्जमा बोलाएको केन्द्रीय समितिको बैठकले पार्टी विभाजनलाई औपचारिकता दिने सम्भावना छ ।

गत साउनमा महन्थ ठाकुर पक्षलाई अल्पमतमा पार्ने बेला एक ठाउँमा उभिएका यादव र भट्टराई पक्षबीच झण्डै एक वर्षदेखि विवाद चलिरहेको थियो । स्थानीय चुनावअघि नै भट्टराई पक्षले त्यही बेला सके बहुमत जुटाउने नभए केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत जुटाएर नयाँ पार्टी बनाउने तयारी गरेको थियो ।

नजिकै चुनाव आइसकेका कारण त्यतिबेला भट्टराई पक्ष रोकियो । यादव पनि पार्टी सञ्चालनका लागि भट्टराई र वरिष्ठ नेता अशोक राईलाई राखेर हेडक्वार्टर बनाउने तथा स्थानीय चुनावको उम्मेदवारको टिकटमा हस्ताक्षर गर्ने अधिकार राईलाई दिन सहमत भए ।

तर अध्यक्ष यादवले सहमति पालना नगरी एकलौटी ढंगले पार्टी चलाएको भट्टराई पक्षको आरोप छ । त्यही कारण चुनावलगत्तै भट्टराई पक्षले सके बहुमत जुटाउने, नभए पार्टी फुटाउन आवश्यक संसदीय दल र केन्द्रीय समितिको ४० प्रतिशतको समर्थन जुटाएर नयाँ पार्टी बनाउने तयारी थाल्यो । पछिल्लो समय भने पार्टीको समीकरणमा हेरफेर भयो ।

भट्टराईतिर लागेका ईस्तियाक राई, प्रदीप यादव लगायतका नेताहरु उपेन्द्र यादवतिर ढल्किए । बहुमत पु¥याउने दाबी गरेको भट्टराई पक्षमा ४० प्रतिशत पुग्न पनि हम्मेहम्मे पर्ने अवस्था आएको एक कार्यकारिणी सदस्यले जानकारी दिए । तर अध्यक्ष यादवसँग एउटै पार्टीमा मिलेर बस्ने अवस्था पनि छैन ।

त्यसैले संघीय परिषद्का अध्यक्ष भट्टराईले नै अध्यक्ष यादवलाई भेटेर छलफल गर्ने प्रस्ताव राखे । संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार दुई नेताबीच करिव दुई घण्टा वान टू वान वार्ता भयो । लगत्तै बसेको संसदीय दलको बैठकमा यादवले भट्टराईले आफूसँग विदाइ भेट गरेको ब्रिफिङ सुनाए ।

यादवले सञ्चार माध्यमहरुसँग संघीय परिषद् अध्यक्ष डा। भट्टराईले हार्दिकताका साथ अलग हुने प्रस्ताव राखेको र आफू पनि सहमत भएको बताए । भट्टराई निकट नेताहरुले पनि अध्यक्ष यादवको भनाइलाई पुष्टि गरेका थिए ।

तर बिहीबार आफू निकट कार्यकारिणी सदस्यहरुसँग भएको भेटमा भट्टराईले अहिले नै अलग भइहाल्ने प्रस्ताव आफूले नराखेको बताएका छन् । कार्यकारिणी सदस्य प्रशान्त सिंहका अनुसार अध्यक्ष यादवसँग भएको भेटबारे भट्टराईले बिहीबार ब्रिफिङ गरेका थिए ।